काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार पूर्ण रूपमा असफल भइसकेको आरोप लगाएका छन्। आइतबार प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले यस्तो बताएका हुन्।
बजेट प्रस्तुत गर्दा ८.५ प्रतिशत आर्थिक वृद्धिदर लक्ष्य तय गरेको सरकारले २.१६ प्रतिशत मात्रै आर्थिक वृद्धिदर हासिल हुने अवस्था कसरी आयो भन्दै प्रश्न गरेका थिए। उक्त आर्थिक वृद्धिदर हासिल गर्दा नै आफूले त्यसको आधा मात्रै आर्थिक वृद्धिदर हासिल गर्न चुनौती दिएको स्मरण गरे।
आधाको पनि आधा मात्रै आर्थिक वृद्धिदर हासिल हुनेमा उनले शंका व्यक्त गरे। सरकारको आय -व्यय पनि यथार्थपरक नभएको उनले बताएका छन्। जसका कारण सरकारको राजस्व लक्ष्यनुसार संकलन नभएको बताएका छन्।
यसैगरी शान्तिसुरक्षा दिने विषयमा पनि सरकार पूर्ण रुप असफल भएको बताएका छन्। कोशी प्रदेशको एक कार्यक्रममा जाँदा आफूमाथि हमला हुँदासमेत सरकारले शान्ति सुरक्षाको प्रत्याभूति गर्न नसकेको ओलीले आरोप लगाए।


