काठमाडौँ- एनसेलले वाईफाई इन्टरनेटको माध्यमबाट गुणस्तरीय भ्वाइस कल सेवा दिन भ्वाइस ओभर वाईफाई (भोवाईफाई) सेवाको सुरूवात गरेको छ। नयाँ प्रविधिमा उपभोक्ताहरूको पहुँच सुनिश्चित गराउने आफ्नो निरन्तरको प्रयासस्वरूप यो सेवा सञ्चालनमा ल्याइएको एनसेलले जनाएको छ।
यो सेवाले ग्राहकलर् कुनैपनि भरपर्दो वाईफाई इन्टरनेट प्रयोग गरी स्पष्ट सुनिने एचडी भ्वाइसमा कल गर्न, आगमन कल उठाउन र एसएमएस आदानप्रदान गर्न सहज हुने बताइएको छ। वाईफाई कलिङ नामले पनि चिनिने भोवाईफाई सेवा कमजोर मोबाइल नेटवर्क सिग्नल भएका ठूला विल्डिङका बेसमेन्ट र दुर्गम स्थानमा पनि सेवा लिन प्रयोग गर्न सकिने छ। एनसेलका अनुसार हाललाई, एनसेलको यो सेवा आइफोन ८ र त्यसमाथिका आइफोन मोडेलहरूमा उपलब्ध छ।
यो सेवाबाट फाइदा लिन अतिरिक्त शुल्क लाग्दैन। अहिले भइरहेकै भ्वाइस र एसएमएस सेवाको शुल्कमा नै यो सेवा लिई कमजोर मोबाइल नेटवर्क भएका स्थानमा पनि विस्तारित नेटवर्क कभरेजको फाइदा लिन सकिने एनसेलले जनाएको छ।
भ्वाइस ओभर लङ् टर्म इभोलुशन (भोल्टे) सेवाका लागि फोरजी आवश्यक भए जस्तै, भोवाईफाईका लागि भरपर्दो वाईफाई कनेक्सनको आवश्यकता पर्दछ। कमजोर मोबाइल नेटवर्क भएका ठाउँहरूबाट कुराकानी गर्दा गर्दै मोबाइल नेटवर्क भएको ठाउँमा पुगे भोवाईफाईबाट मोबाइल नेटवर्कमा स्वतः स्वीच हुने यो प्रविधिको विशेषता भएको एनसेलले विज्ञप्तिमार्फत् जानकारी गराएको छ।
भोवाईफाई सेवाका साथ ग्राहकलाई मोवाइल नेटवर्क समस्या भएका इनडोर अथवा बेसमेन्टजस्ता स्थानहरुमा समेत सेवा प्रदान गर्नका लागि फोरजीको परिपूरक प्रविधिको रूपमा भोवाईफाई सञ्चालनमा ल्याइएको एनसेलले जनाएको छ।
चाँडै नै यो सेवा सामसङ, शाओमी, ओपो र भीभोलगायतका अन्य ब्रान्ड तथा मोडेलहरूमा पनि विस्तार गर्ने योजना एनसेलको रहेको छ। यसले अझ बढी उपभोक्ताहरूलाई सेवा उपलब्ध गराउने लक्ष्य राखेको भन्दै एनसेलले आफ्नो फोरजी नेटवर्क देशको ९४ प्रतिशत जनसंख्यालाई कभर गर्ने गरी विस्तार गरिसकेको बताएको छ।
भोवाईफाई सेवा चलाउन मिल्ने मोबाइल सेट भएका ग्राहकहरूले एनसेल एप डाउनलोड गरी एपमार्फत यो सेवा एक्टिभेट गनुपर्ने हुन्छ। त्यस पश्चात ग्राहकले कुनैपनि भरपर्दो वाईफाईमार्फत भोवाईफाई सेवाको फाइदा लिन सक्छन्।
सेवा एक्टिभेट गर्नुअघि, ग्राहकले भोल्टे र भोवाईफाई वा वाईफाई कलिङ दुवै आफ्नो मोवाइलमा सक्रिय अर्थात स्वीच अन गरेको हुनुपदर्छ। त्यसका लागि सेटिङमा गएर, मोवाइल नेटवर्कभित्र गई सिमकार्ड छान्नु पर्दछ र भोवाईफाई, वाईफाई कलिङ वा सोहि अनुसार छानेर सक्रिय गर्नु पर्दछ। यसरी ग्राहकले आफ्नो मोबाइलमा भोवाईफाई वा वाईफाई कलिङ देखेमा सो मोबाइलमा भोवाईफाई सेवा चल्ने बुझिन्छ। सेटिङ्मा भोवाईफाई, वाईफाई कलिङ् सक्रिय गर्ने प्रक्रिया एन्ड्रोइड र आईओएस दुवैका लागि समान रहेको छ।


