काठमाडौँ- काठमाडौँको ठमेलमा ड्युटीमा खटिएका प्रहरीमाथि निर्घात कुटपिट गरेको आरोपमा सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमाले निकटका विद्यार्थी नेता पक्राउ परेका छन्।
अनेरास्ववियुका स्थायी कमिटी सदस्य तथा अमृत साइन्स क्याम्पस (अस्कल)का पूर्वस्ववियू सभापति कमल जोशी प्रहरीलाई कुटेको आरोपमा बिहीबार पक्राउ परेका हुन्।
बिहीबार राति जोशीसहितको समूहले प्रहरी हवल्दार जगुलाल घर्ती र जवान नगेन्द्रराज विष्टमाथि ठमेलको छाया सेन्टर अगाडि आक्रमण गरेको थियो। घाइते प्रहरी घर्तीको टाउकोसहित शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो। विष्टको आँखा र अन्य भागमा गम्भीर चोट छ।
नयाँ बानेश्वरबाट पक्राउ परेका जोशीविरुद्ध अभद्र व्यवहार मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ।
सोही घटनामा ताप्लेजुङको फुङलिङ नगरपालिका–१ घर भएका २६ वर्षीय दिनेश सिग्देल र डडेल्धुराको गन्यापधुरा गाउँपालिका– ५ का २२ वर्षीय रमेश फुलारा यसअघि नै पक्राउ परेका थिए।


