काठमाडौँ- १५ वर्षअघि दोलखाको एक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष चयनका क्रममा भएको हत्या मुद्दामा सर्वोच्च अदालतले फैसला गरेको छ। सर्वोच्चका न्यायाधीश बालकृष्ण ढकाल र महेश शर्मा पौडेलको संयुक्त इजलासले उक्त मुद्दामा बिहीवार फैसला सुनाएको हो।
२०६६ चैत ६ गते साविक मिर्गे गाविसस्थित कालीढुङ्गा माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति अध्यक्ष चयन गर्ने कार्यक्रम थियो। उक्त पद लिनका लागि स्थानीय राजनीतिक दल विभाजन बनेका थिए। आआफ्नो पक्षका उम्मेदारलाई विव्यस अध्यक्ष बनाउने क्रममा राजनीतिक दलबीच विवाद हुँदै झडपसम्मको स्थिति बनेको थियो।
झडपमा परी दोलखाको बैतेश्वर गाउँपालिका-३ (साविक मिर्गे गाविस)का दीपक दाहालको मृत्यु भयो। दाहालको हत्या भएको अभियोगमा मुद्दा चलेको थियो। उक्त मुद्दा जिल्ला हुँदै सर्वोच्चसम्म आएको थियो।
सर्वोच्चको फैसलाले हत्याको अभियोग खेपिरहेका १४ जनाले घटना भएको १५ वर्षपछि सफाइ पाएका हुन्। यो मुद्दा खेप्नेमा अधिकांश नेपाली कांग्रेसका स्थानीय नेताहरू थिए।
सर्वोच्चको फैसलाले बमबहादुर तामाङ्ग, कुलप्रसाद दाहाल, मणिक तामाङ्ग, पुष्करकुमार दाहाल, सूर्यबहादुर दाहाल, लक्ष्मणप्रसाद दाहाल, पवनप्रसाद दाहाल, रामशरण दाहाल, कृष्णबहादुर दाहाल, मणिप्रसाद दाहाल, गोविन्दप्रसाद दाहाल, सीताराम दाहाल, सिद्धिबहादुर दाहाल र छत्रबहादुर दाहालसहित १४ जना सफाइ दिएको छ। यीमध्ये सीताराम दाहाल र गोविन्द दाहाल १९ महिना जेल बसेर छुटेका थिए।
राजनीतिक आस्थाका आधारमा आफूहरुलाई अनावश्यक दुःख दिने काम भएको तर सर्वोच्च न्यायालयबाट आएको फैसलाले न्यायको अनुभूति भएको सफाइ पाउनेमध्येका एक जना बमबहादुर तामाङले बताए।


