काठमाडौँ- चालु आर्थिक वर्षको पहिलो १० महिना (२०७९ साउन १ गतेदेखि २०८० वैशाख ३१ गतेसम्म)मा १२ खर्ब ४ अर्ब ४२ करोड २४ लाख बराबरको व्यापारघाटा भएको छ। भन्सार विभागले आइतबार सार्वजनिक गरेको विवरणमा नेपालले १३ खर्ब ३५ अर्ब ३२ करोड २४ लाख बराबरको माल वस्तु आयात गरेको देखिएको छ।
दश महिनाको अवधिमा देशले १४ खर्ब ६६ अर्ब २२ करोड २४ लाख बराबरको वैदेशिक व्यापार गरेको छ। विभागका अनुसार सो अवधिमा नेपालले रु एक खर्ब ३० अर्ब ९० करोड बराबरको माल वस्तु निर्यात गरेको छ। सो अवधिका वस्तु आयात र निर्यात दुवै घटेको छ।
आव २०७८/७९ को १० महिनाको अवधिमा नेपालले १ खर्ब ७३ अर्ब ३४ करोड बराबरको माल वस्तु निर्यात गरेको थियो। गत वर्षको तुलनामा चालु आवको १० महिनामा वस्तु निर्यात २४ दशमलव ४९ प्रतिशतले घटेको छ।
विभागका अनुसार आव २०७८/७९ मा रु १६ खर्ब ४ अर्ब ६५ करोड २५ लाख बराबरको कूल आयात गरेकामा चालु आवको १० महिनामा रु १३ खर्ब ३५ अर्ब ३२ करोड २४ लाख बराबरको आयात भएको छ।
कूल कारोबारका आधारमा आव २०७८/७९ को पहिलो १० महिनामा १७ खर्ब ७८ अर्ब बराबरको व्यापार भएकामा चालु आवको १० महिनामा रु १४ खर्ब ६६ अर्ब २२ करोड बराबरको व्यापार भएको छ।


