काठमाडौँ- आयोजनाका हिसाबले काभा महिला भलिबल च्यालेन्ज कप नेपाल भलिबल संघले पाएको अहिलेसम्मकै ठूलो जिम्मेवारी हो। एसियाको शीर्ष श्रेणीको प्रतियोगिता खेल्ने कजाकस्तान र भारत पनि सहभागी यो प्रतियोगितामा तेस्रो पटक उपाधि जिल्ने लक्ष्य नेपालले राखेको छ।
यता नेपाली टिममा अहिले धेरै परिवर्तन देखिएका छन्। बेल्जियमी प्रशिक्षक जान डी ब्रान्टले नेपाली टिम सम्हालेपछि गत फागुन ७ गतेबाट अभ्यास गरिरहेको छ। नेपाली टोलीले यति लामो अभ्यास गरेको सागपछि पहिलो पटक नै हो।
अभ्यासबाट धेरै निखार आएको नेपाली टिमकी कप्तान अरुणा शाही बताउँछिन्। ‘टिममा पहिलेको भन्दा धेरै परिवर्तन भएको छ। अहिले ६ जना नयाँ खेलाडी र ८ पुराना खेलाडी मिलेर सन्तुलित टिम बनेको छ। मलाई लाग्छ यो तीन महिना लामो अभ्यासले हाम्रो प्रदर्शनमा फरक ल्याउँनेछ। पहिलेको भन्दा राम्रो गर्नेछौं,’ खेलअघि अरुणा भन्छिन्।
यो प्रतियोगितामा सहभागी ८ टिमलाई दुई समूहमा बाँडिएको छ। तर दुवै समूह सजिलो अवस्थामा छैनन्। नेपाल सहभागी रहेको समूह ‘ए’ मा भारतलाई सबैभन्दा बलियो देशका रुपमा हेरिएको छ। कीर्गिस्तान पनि उतिकै बलियो छ भने बंगलादेशी टिम पनि प्रतिस्पर्धात्मक छ।
‘जुनसुकै अवस्था भए पनि मेरो लक्ष्य भनेको एउटा मेडल जित्ने नै हो,’ सहभागी टिमहरूबारे जानकार अरुणा भन्छिन्। उनलाई थाहा छ कि, सहभागी बनेपछि स्वर्ण पदककै अपेक्षा राखिन्छ त्यसैले उपाधि नै जित्न नसके पनि उनलाई ‘टफ फाइट’ दिन सकिन्छ भन्ने लागेको छ।

प्रतियोगिताका लागि तयार पारिएको कभर्ड हल।
भारतसँगको पछिल्लो भेट नेपालले चाहेर पनि बिर्सन सक्दैन। नेपाल स्वर्णको नजिक पुगेर हार व्यहोरेको थियो। दक्षिण एसियाली खेलकुदको त्यो फाइनल खेलमा सुरुआती दुई सेटमा जित निकालेको थियो नेपालले। तर त्यो उत्कृष्ट खेलको लागि नेपालले थाइल्यान्डमा अभ्यास गरेको थियो। साथै भर्खरै सेन्ट्रल जोन भलिबलमा उपाधि पनि जितेको थियो।
‘सागको बेलामा हामीले धेरै खेल्यौ। बंगलादेशमा उपाधि जितेर आएकाले उत्साह पनि थियो। त्यसले गर्दा फरक वातावरण बनेको थियो। त्यसअघि हामी भारतसँग सजिलै हारिरहेका थियौँ। तर त्यो खेल गज्जब भएको थियो,’ अरुणा अगाडि भन्छिन्, ‘अहिले पनि सकेसम्म मैत्रीपूर्ण खेल खेल्न पाए हुने भनेर संघलाई अनुरोध गरेको हो। तर सबै कुरा बजेटमै गएर ठोक्किने रहेछ। हामीलाई यो खेल गर्नु नै ठूलो कुरा भयो। संघलाई धेरै दबाब दिन सकिएन।’
नेपालले विदेशका टिमसँग खेल्न नपाए पनि उसले नेपालकै पुरुष टिमविरुद्ध खेलेर तयारी गरेको छ। ‘उहाँहरुको स्पाइक उठाउने, उहाँहरुके ब्लकमा हान्न प्रयास गरेका छौं,’ अरुणाले भनिन्।
यस्तै अभ्यासले गर्दा नेपाली टिमको तयारी राम्रो भएको उनको भनाइ छ।
नेपाली टिमलाई भलिबल सिकाउन बेल्जियमका अनुभवी प्रशिक्षक जोन डी ब्रान्टलाई फिभाले नेपालमा पठाइदिएको छ। ‘टिममा युवा र बलिया खेलाडी हुनुहुन्छ। खासगरी प्रशिक्षकको अनुभवले नै धेरै प्रभाव पार्छ भन्ने लाग्छ। उहाँहरुको रणनीतिमा टफ प्रतिस्पर्धा दिन्छौं,’ अरुणाले भनिन्।
च्यालेन्ज कपमा नेपालको अगाडि यो यात्रा तय गर्नको लागि पहिलो खेल महत्वपूर्ण छ। पहिलो खेल नेपालले कीर्गिस्तानसँग सोमबार खेल्दैछ।
तर हरेक खेल उत्तिकै महत्वपूर्ण र फाइनलसरह हुने अरुणा बताउँछिन। ‘फाइनल पुग्नको लागि हामीले सुरुबाटै खेल जित्दै जानुपर्छ। र, अहिले सबै टिम फाइनल पुग्ने क्षमताका छन्। हाम्रो लागि घरेलु मैदान फाइदाजनक पनि छ। पहिलो खेल अझै धेरै महत्वपूर्ण छ,’ उनले भनिन्।
प्रशिक्षक ब्रान्ट आइसकेपछि नेपाली महिला टिममा भएको सबैभन्दा ठूलो परिवर्तन भनेको टिममा सामूहिक भावना विकास भएको टिमका सदस्यको भनाइ छ। पछिल्लो समय नेपालले ‘अर्गनाइज डिफेन्स’ अभ्यास गरिरहेको छ।
नेपालले भारतसँग हार्दा ‘रिसिभ’ राम्रो भएको थिएन। ‘अहिले हामीले त्यसलाई सुधार गरेका छौं,’ अरुणा भन्छिन्, ‘त्यसले गर्दा अहिले सर्भिस, डिफेन्स र रिसिभलाई धेरै केन्द्रमा राखेका छौं। किनभने हामी उचाईमा अरु देशका खेलाडीसँग प्रतिस्पर्धा गर्न सक्दैनौँ।’
भलिबल संघका अध्यक्ष जितेन्द्र चन्दका अनुसार उपाधि जित्न नेपाली टिमलाई सजिलो भने छैन। ‘उपाधि सजिलो छैन। अहिले हामीले त्यो आशा देख्न गाह्रो छ। त्यसैले हामीले उत्कृष्ट प्रदर्शन गर्नेछौँ चाहिँ भन्नैपर्छ,’ उनले भने।

श्रीलंकाको राष्ट्रिय महिला भलिबल टिम।
कडा प्रतिस्पर्धा
भारत र कजाकस्तानले पहिलो पटक यो प्रतियोगिता खेल्न लागेको हो। यी दुई टिम एसियाको उच्चस्तरीय प्रतियोगिता खेल्ने टिम हुन्। त्यसैले यो प्रतियोगिता पछिल्ला संस्करणको तुलनामा प्रतिस्पर्धात्मक र नेपालका लागि दबाबपूर्ण छ।
अभ्यासका लागि नेपालले ती देशको धेरै खेल हेर्न पाएको छैन्। ‘हामीले प्रतिस्पर्धीका पछिल्ला खेल हेर्न पाएका छैनौँ। कुनै टिमको त दुई वर्ष अघिको खेल मात्र इन्टरनेटमा उलपब्ध छ। त्यसपछि हाम्रो र उनीहरुका दुवै टिममा धेरै परिवर्तन हुने नै भए। हामीले उनीहरुको औषत स्तर हेरेर खेल्ने हो। प्रतियोगितमा उपाधिको फेभरेट टिम कजाकस्तान हो,’ अरुणा भन्छिन्, ‘ एसियाली देशमा पनि उसको दबदबा राम्रो छ। तर टिम कस्तो आएको छ त्यो चाहीँ फिल्डमै गएपछि थाहा हुन्छ। अहिलेको सबैजसो टिम बलिया नै छन्। हामी एक एक खेल गर्दै अघि जानेछौं। कीर्गिस्तान र बंगलादेश एक एक खेल्ने हो।’
नेपालले प्रतियोगितामा उपाधि नभए मेडलको आशा राखेको छ। नेपाली टोली स्रोतका आधारमा धेरै पछि रहेको अरुणाको भनाइ छ। ‘स्रोत साधनमा हिसाबले हामी धेरै पछि छौं। यति रिसोर्समा पनि हामीले धेरै महेनेत गर्नुको श्रेय हाम्रो प्यासनलाई नै जान्छ। केही पाइएला भन्दा पनि सकेको गर्ने हो। यसले नयाँ खेलाडीलाई पनि प्रेरणा दिन्छ भन्ने लाग्छ। केही गर्नुपर्छ भन्ने हामीलाई लागेको छ,’ उनले भनिन्।
के भन्छन् सहभागी देशका कप्तान?

काजकस्तानको राष्ट्रिय महिला भलिबल टिम।
हवा रसिद (माल्दिभ्सः ) : हाम्रो तयारी राम्रो भएको छ। हामी सकेसम्म माथि जाने प्रयास गर्नेछौँ। एक मेडलको आशा राखेका छौँ।
सबिना खातुन (बंगलादेश) : हामीले एक महिना मात्र अभ्यास गरेको हो। काभा हुने भएपछि नै हामीले अभ्यास थालेका थियौँ। हामी प्रतियोगितामा राम्रो खेल प्रस्तुत गर्न चाहन्छौं।
थिलिनी वासना (श्रीलंका) : यो प्रतियोगिताको आयोजकलाई धन्यवाद। हामीले दुई साढे एक महिनादेखि अभ्यास गरिरहेका छौं। भोलि हाम्रो र उज्वेकिस्तानको खेल रहेको छ। त्यसैले हामी यो खेलमा बेस्ट दिनेछौं। मेरो टिमको लक्ष्य मेडल जित्ने हो।
निर्मला (भारत): मेरो टिमका साथीहरु र प्रशिक्षकहरुले धेरै हार्डवक गरेका छन्। हामी यो प्रतियोगितामा आउन पाउँदा धेरै नै खुसी छौं। हाम्रो लक्ष्य भनेको जुनसुकै भए पनि मेडल जित्नु हो।
अरुणा शाही (नेपाल) :
तीन महिनादेखिको अभ्यास छ। त्यसको बलमा हामी प्रतियोगितामा ह्याट्रिक गर्ने लक्ष्य राखेका छौं। त्यसलाई हामीले राम्रो नतिजा ल्याउने लक्ष्यमा छौं। पहिलेको भन्दा बेस्ट दिने भन्ने नै हो।
यसबाहेक उज्वेकिस्तान(योर्मोलोव नोजिमा), काजखस्तान(बलगाजिनोभा सायिन) र कीर्गिस्तान(क्याड्रोभा आइदाई)का खेलाडीले पनि राम्रो प्रदर्शन गर्ने र मेडलका लागि कोसिस गर्ने बताएका छन्।



