चितवनः नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले पार्टीको महाधिवेशन तोकिएको समयमा नहुने बताएका छन्।
शनिबार चितवनमा पत्रकाहरूसँगको कुराकानी प्रवक्ता महतले पार्टीभित्रको राजनीतिक अवस्था र तयारीले महाधिवेशन तोकिएकै समयमा नहुने देखिएको बताएका हुन्।
‘अहिले पनि एक वर्ष त झन्डै ४ वर्षको अवधि पूरा हुन बाँकी नै छ। एक वर्ष थप्ने प्रचलन नै छ। त्यो भन्दा अघि त हाम्रो अधिवेशन गर्ने तयारी पनि पुगेको छैन। कम्तिमा पनि दुई वर्ष त अहिले नै छ,’ उनले भने।
तर कति थपिन्छ वा थपिँदैन भन्नेकुरा केन्द्रीय समितिको बैठकले निर्णय गर्ने बताए।
महाधिवेशन आउन अझै धेरै बाँकी रहेका कारण नेतृत्वको दौड आजैदेखि सुरू गर्नुपर्छ भन्ने पक्षमा आफू नरहेको पनि प्रवक्ता महतले बताए।
‘बरू अहिले पार्टी निर्माणमा दौड लगाउनु पर्छ। पार्टी युनिफाइ गर्न दौड लगाउनुपर्छ। पार्टीभित्र सद्भाव वृद्धि गर्न दौड लगाउनुपर्छ। एक अर्कालाई स्वीकार गर्ने प्रवृत्ति विकास गर्न दौड लगाउनुपर्छ। अहिलेदेखि नै म भनेर दौड किन लगाउनु?,’ उनले भने।


