काठमाडौँ- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेस सत्तापक्ष भएपनि अहिले सरकारमा नरहेको टिप्पणी गरेका छन्। मंगलवार काठमाडौँमा नेपाल प्रेस युनियनका शाखा अध्यक्षको राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै कोइरालाले यस्तो टिप्पणी गरेका हुन्।
‘हामी सरकार बाहिर छौँ, सत्ता पक्षमा छौँ तर सरकारमा छैनौँ। हामीले यो सरकारलाई खबरदारी गरिरहनुपर्ने आवश्यकता छ। हामी प्रतिष्पर्धी पनि हौँ,’ डा कोइरालाले भने, ‘भोलिको राजनीतिमा एमालेको प्रतिस्पर्धी नेपाली कांग्रेस हो। हामीले जे कुरामा चित्त बुझ्दैन, त्यसमा खबरदारी गरेर अघि बढ्नुपर्ने आवश्यकता छ।’
कांग्रेसले संघदेखि प्रदेश तहसम्म एमालेसँगको साझेदारीमा र गत स्थानीय तहको निर्वाचनमा ३२७ पालिका प्रमुख र २९८ पालिका उपप्रमुख जितेर सरकार चलाइरहेका बेला नेता कोइरालाले भने विरोधाभासपूर्ण अभिव्यक्ति दिएका हुन्। सरकारमा रहे पनि कांग्रेसले प्रभावकारी रूपमा काम गर्न नसकेको तथा पार्टीका सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापालगायतको भूमिकामा असन्तुष्टि व्यक्त गर्न कोइरालाले विरोधाभास शैलीको सहयोग लिएका हुन्।
कोइरालाले केन्द्रदेखि गाउँपालिकासम्म संयन्त्रबाट शासन गर्ने काम भइरहेको र अब विस्तारै वडामा पनि संयन्त्र बनाएर शासन गर्ने दुष्प्रयत्न भइरहेको बताए। संयन्त्रले सरकार चलाउने कुरा कम्युनिस्टहरु र साम्यवादी देशमा मात्रै हुन सक्ने भन्दै उनले लोकतन्त्रमा त्यस्तो नहुने जिकिर गरे। संयन्त्रमा महामन्त्री गगन थापा पनि सदस्य छन्।
सामाजिक सञ्जाल सम्बन्धी विधेयक मानिसको अभिव्यक्ति स्वतन्त्रताप्रति आघात पुग्ने गरी ल्याइएको आरोप समेत कोइरालाको छ। ‘सामाजिक सञ्जाल सम्बन्धी जुन विधेयक छ। यो विधेयक भर्खर संसदमा गएको छ। छलफल हुन बाँकी नै छ। तर जसरी यो विधेयक आएको छ। र जस्ताको त्यस्तै पास भयो भने मानिसको अभिव्यक्ति स्वतन्त्रताप्रति नै आघात पुग्छ।’
अहिले सरकारबाट नै लोकतन्त्र अफ्ठ्यारोमा परेको उनको टिप्पणी थियो।
‘हामीले यो सरकारलाई सुशासन दिन्छ भनेर ल्याएको हो। तर कस्तो सुशासन भने घुस दिनेलाई समात्ने, घुस लिने छोडिदिने रहेछ,’ उनले थपे, ‘महान्यायाधिवक्ताको क्रियाकलाप हेर्नुभयो भने उहाँलाई जुन अधिकार दिएको छ, राज्यले त्यो अधिकारको दुरुपयोग भइरहेको छ।’


