काठमाडौँ- भारतमा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षा प्रत्याभूतिका लागि कूटनीतिक र राजनीतिक पहल तत्काल थाल्न सांसदहरुले सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सांसदहरूले भारतको उडिसा राज्यको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) बुटवलकी प्रकृति लम्सालको मृत्युको छानबिन र त्यहाँ अध्ययनरत अन्य विद्यार्थीको सुरक्षाका लागि भारत सरकारसँग समन्वय गर्न सरकारलाई आग्रह गरेका हुन्।
सांसदहरु छविलाल विश्वकर्मा, माधव सापकोटा, ध्रुवबहादुर प्रधान, ठाकुर गैरेले प्रकृति लम्सालको रहस्यमय मृत्युबारे छानबिन, दोषीमाथि कारबाही तथा केआइआइटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षा प्रत्याभूतिको माग गरेका थिए।
सांसद प्रभु साहले शिवरात्रि मेला लाग्ने क्षेत्रमा सुरक्षित यातायात तथा सडक, खानेपानी, शौचालय, स्वास्थ्यउपचार, सुरक्षा व्यवस्थामा ध्यान पुर्याउनुपर्ने बताए।
अर्की सांसद डा तोसिमा कार्कीले नेपाल रेडक्रस सोसाइटीमा भएको आर्थिक हिनामिना र त्यससम्बन्धमा भएको छानबिन बारेमा सदनलाई जानकारी दिनुपर्ने बताइन्।
नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युबारे गम्भीर अनुसन्धानको माग गर्दै आएको प्रदर्शनमा विद्यार्थीलाई कुटपिट गरेको आरोपमा भारत प्रहरीले दुई सुरक्षागार्डलाई पक्राउ गरेको छ।
भुवनेश्वर प्रहरीले प्रेस विज्ञप्ति जारी गर्दै सुरक्षागार्ड ४५ वर्षीय रमाकान्त नायक र २५ वर्षीय जोगेन्द्र बोहोरालाई नियन्त्रणमा लिइएको जानकारी दिएको हो।
लम्साललाई सोही विश्वविद्यालयमा अध्ययनरत अड्विक श्रीवास्तव नामक युवकले मानिसक यातना दिने गरेका थिए। त्यसबारे युनिभर्सिटी प्रशासनलाई निवेदन दिँदासमेत कुनै कारबाही भएको थिएन।
यस्तोमा लम्सालको मृत्युपछि यो मामलामा गम्भीर जाँच गर्न माग गर्दै विद्यार्थीले प्रदर्शन गरेका थिए। तर, सोमबार युनिभर्सिटी प्रशासनले विद्यार्थीको प्रदर्शनलाई दबाउन लाठी चार्ज गरेको थियो।
होस्टलबाट नेपाली विद्यार्थीलाई बाहिर निकालेको थियो।
होस्टलका सुरक्षागार्डले कुटपिट गरेको भिडियो भाइरल भएपछि यस विषयमा प्रहरीमा समेत उजुरी परेको थियो। थप अनुसन्धान गरिरहेको भुवनेश्वर प्रहरीले जानकारी दिएको छ।
यता नेपालको परराष्ट्र मन्त्रालयले विश्वविद्यालयमा नेपाली विद्यार्थीको सुरक्षा व्यवस्था गर्नका लागि नेपाल प्रहरीको टोली पुगेको छ। परराष्ट्रमन्त्री आरजु राणा देउवाले मंगलबार बिहान नेपाल प्रहरीका दुईजना वरिष्ठ अधिकारी विद्यालय पुगेको जानकारी दिएकी हुन्।
प्रकृतिको मृत्युपछि विकसित परिस्थितिलाई सरकारले निरन्तर फलोअप गरिरहेको परराष्ट्रमन्त्री राणाले बताएकी छिन्।
‘नेपाली विद्यार्थीको अवस्था बुझ्न र त्यहाँ रहेका नेपाली विद्यार्थीलाई कलेजमा सुरक्षाको वातावरण मिलाउने सन्दर्भमा नेपाली राजदूतावास नयाँ दिल्लीबाट नेपाल प्रहरीका दुई जना वरिष्ठ अधिकारी आज बिहानै विश्वविद्यालय पुग्नुभएको छ,’ परराष्ट्रमन्त्री राणाले भनेकी छन्।
परराष्ट्रमन्त्री राणाले घटनाको आवश्यक अनुसन्धानका लागि भारतीय सुरक्षाकर्मीसँग समन्वय गर्न तथा नेपाली विद्यार्थीलाई आवश्यक सहयोग र होस्टलमा सुरक्षित रूपमा रहनका लागि विश्वविद्यालय प्रशासनसँग समन्वय गर्न निर्देशन दिएको बताएकी छिन्। ‘यस विषयमा नेपाली दूतावास नयाँदिल्लीले आवश्यक पहल गरिरहेकै छ। हिजोको कूटनीतिक प्रयासपछि कलेजले विद्यार्थीहरूलाई होस्टेलमा फर्कन अपिल गरिसकेको छ,’ उनले भनिन्।


