काठमाडौँ – पोखरामा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएको घटनामा बेलुनमा हाइड्रोजन ग्यास भर्ने एक जना भारतीय पक्राउ परेका छन्।
वडा प्रहरी कार्यालय बैदामले ४१ वर्षीय कमलेस कुमारलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जानकारी दिएको हो।
गत फागुन ३ गते भ्रमण वर्ष उद्घाटन क्रममा हाइड्रोजन भरिएको बेलुन उडाउन खोज्दा अर्थमन्त्री पौडेल र मेयरलाई आगोको लप्काले लागेर घाइते भएका थिए। घाइते दुवैलाई आकस्मिक तवरले काठमाडौँ ल्याई उपचार गराइएको थियो भने भारतीय नागरिक कमलेसलाई त्यही दिन पक्राउ गरिएको प्रहरीले बताएको छ।
बेलुनमा हाइड्रोजन ग्यास भरेको विषयमा अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ। घटनासँग जोडिएका अन्यसँग पनि प्रहरीले बयान लिइएको जनाएको छ।


