काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले बालसिर्जनाका कार्यक्रमलाई महानगरपालिकाले प्राथमिकता दिएको बताएका छन्। महानगरका प्रथम मेयर पीएल सिंहको स्मृतिमा विद्यालय स्तरीय स्थलगत चित्रकला प्रतियोगिताको उद्धाटन गर्दै मेयर बालेनले यस्तो बताएका हुन्।
हरेक बालबालिकमा कुनै न कुनै विलक्षण प्रतिभा हुने र ती प्रतिभा पहिचान गर्न काठमाडौँ महानगरले विभिन्न कार्यक्रम सञ्चालन गरेको उनको भनाइ थियो।
‘बालबालिकाभित्र कुनै न कुनै विलक्षण र विशेष क्षमता हुन्छन्। ती क्षमता पहिचान गराउन र सक्रिय गराउन सिकाइका यी विधा महत्वपूर्ण हुन्छन्। कक्षा कोठाभन्दा बाहिर आयोजना गरिने कार्यक्रमले बालबालिकाको शारीरिक, मानसिक, चारित्रिक तथा सामाजिक विकासमा प्रभावकारी भूमिका खेल्छन्,’ राष्ट्रिय प्रजातन्त्र दिवसमा वडा नम्बर २७ ले रानीपोखरी परिसरमा आयोजना गरेको ‘पीएल. सिंह स्मृति चित्रकला प्रतियोगिता’ को उद्घाटन गर्दै उनले खुला स्थानमा हुने चित्रकला क्रियाकलापको प्रसङ्गमा भने, ‘यो प्रतियोगिता नभइ प्रदर्शनी जस्तो हो। यसमा सबै बालबालिकाको समान सहभागिता हुन्छ। सबैले समान प्राप्तिको महसुस गर्छन्।’
कार्यक्रममा महानगरपालिकाका पहिलो प्रमुख पीएल सिंह सिंहलाई स्थानीय शासनमा दूरदृष्टि राख्ने नेताका रुपमा स्मरण गरेका थिए।
सिर्जना कलेज अफ फाइन आर्टस्’को प्राविधिक सहयोगमा आयोजित चित्रकलाबाट बालबालिकामा सांस्कृतिक र सिर्जनात्मक चेतना बढाउन सहयोग गर्ने वडाध्यक्ष योगेश खड्गीले बताएका थिए।
चित्रकलाका निर्णायक सिर्जना कलेजका सहायक प्रधानाध्यापक नवीन्द्र राजभण्डारीले, सांस्कृतिक ऐतिहासिक स्थानमा आयोजना गरिएको कार्यक्रमले बालबालिकाहरुमा सम्पदा र परम्पराका बारेमा सिर्जनात्मक अभिव्यक्तिका लागि प्रेरित गर्ने बताए।
विद्यालयस्तरीय, ‘हाम्रा सांस्कृतिक सम्पदा’ विषयक स्थलगत चित्रकला प्रतियोगितामा २ सय जना विद्यार्थीहरु सहभागी छन्। यसमा कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरुलाई समूह ‘क’ मा राखिएको छ। उनीहरुले क्रेयन अन ड्रइङ् पेपरमा चित्र बनाउन दिइएको छ।
कक्षा ४ देखि ६ सम्मका विद्यार्थीहरु समूह ‘ख’ मा छन्। उनीहरुलाई अक्रिलिक कलर अन पेपरमा चित्र बनाउन दिइएको छ। कक्षा ७ देखि १० सम्मका विद्यार्थीहरुलाई समूह ‘ग’ मा राखिएको छ। उनीहरु अक्रिलिक अन क्यान्भास वोर्डमा चित्र कोरिरहेका छन्।
प्रतियोगिताका विजेतामध्ये समूह ‘क’ बाट ३ जनालाई जनही ३ हजार रुपैयाँसहित प्रमाण पत्र, समूह ‘ख’ बाट ३ जनालाई जनही ५ हजार रुपैयाँसहित प्रमाण पत्र र समूह ‘ग’ बाट ३ जनालाई जनही ८ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।


