काठमाडौँ- प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले वर्तमानलाई समृद्ध बनाउन इतिहास बचाउनुपर्ने बताएका छन्। बुधवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ऐतिहासिक धरोहरलाई संरक्षण र संवर्द्धन गर्न जरुरी रहेको बताएका हुन्।
‘यदि वर्तमानलाई समृद्ध बनाउनु छ भने हरेकले आफ्नो इतिहास बचाउनुपर्छ। ऐतिहासिक धरोहरलाई संरक्षण र संवर्द्धन गर्नुपर्छ,’ उनले भने, ‘ऐतिहासिक धरोहर नै आजको वर्तमानका आधार स्तम्भ हुन्। यिनै धरोहरबाट भोलिको बाटोलाई सुगम र निश्चित तथा निर्दिष्ट बनाउने काममा मद्दत पुग्छ।’
सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलले नेपालमा कानूनको पालना गराउने र कानूनी सर्वोच्चताको वकालत गर्ने संस्थाहरू कमजोर बन्दै गएको बताए।
अदालत जस्ता संस्थालाई बलियो बनाउन राजनैतिक प्रतिबद्धता पनि कमजोर रहेको उनको जिकिर छ। यस्तो खाली अवस्थालाई बदनियत राख्नेहरूले प्रयोग गर्न सक्ने खतरा रहेको उनको भनाइ छ। कानूनी प्रणाली बलियो बनाएर मात्र जग बलियो हुने भन्दै उनले जग बलियो कसरी बनाउने भन्ने विषय इतिहासबाट सिक्न सकिने बताए।
‘जतिखेर ठूलाठूला लिगल सिस्टमलाई स्प्रेडओभर गर्ने संस्थाहरू कमजोर हुन्छन्। जस्तो कमन ल सिस्टम। मैले कमजोर भनेको छैन तर त्यसपछिको पोलिटिकल वा इम्पेरियल ब्याकिङ कमजोर हुन्छ, त्यसपछाडि मान्छेहरू आफ्नो सिस्टम खोज्न थाल्छन्,’ उनले थपे, ‘एउटा भ्याकुम क्रिएट हुन्छ। मैले त्यस्तो अवस्था आयो त भनेको होइन। तर त्यसको फाउण्डेशन बनाइराख्नुपर्छ। हाम्रो लिगल सिस्टमको फाउन्डेसन बनाइराख्नुपर्छ। त्यो भनेको हाम्रो इतिहासको अभिलेखबाट सम्भव हुन्छ।’


