काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राजसंस्था पुनर्स्थापना लागि नेपाली सेनाले निर्णय लिनुपर्ने बेला आएको बताएका छन् ।
पोखरामा राप्रपाले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले पूर्व सेनापतिहरूकै कारण देशबाट राजसंस्था हटेको गुनासो गरे । सेनाकै निर्णयबाट राजसंस्था फर्किन सक्ने पनि उनले बताए ।
‘नेपाली सेनाका दुईजना प्रधानसेनापतिले समयमा, परिआएको बेलामा आफ्नो परमाधिपतिको रक्षा गर्न सक्नुभएन । उहाँहरूप्रति मेरो ठूलो गुनासो छ,’ उनले भने, ‘सेना भनेको देशको दीर्घकालीन सुरक्षाको सुनिश्चित गर्छ । गणतन्त्र आउने बेलामा दुई प्रधानसेनापतिले ७ दलका नाइकेहरूलाई यो संस्थालाई छुन पाउँदैनौ भनेर अड्डी लिएको भए गणतन्त्र आएर यो डामाडोल हुँदैनथ्यो ।’
अहिले पूर्वराजाबाट आफूलाई साथ दिन आह्वान गरेको अवस्थामा सेनाले गहन समीक्षा गर्नुपर्ने उनले सुनाए । सेनासँगै राजसंस्था पुनर्स्थापना लागि उनले प्रहरी र अन्य सुरक्षा निकायको पनि साथ खोजेका छन् ।
राजाको वरिपरि हुँदा राजावादी भन्ने र चुनावमा पुरानै पार्टीहरूलाई भोट हाल्ने परिपाटीबाट माथि उठ्न पनि उनले आग्रह गरे ।
मिश्रले सेनाबारे पहिलोपटक अभिव्यक्ति दिएका हुन् । दुवै सेनापतिले हिम्मत गरेको भए तत्कालीन सात दललाई तर्साएर राजसंस्था जोगाउन सक्ने उनको आशय थियो। मिश्रले सेना र प्रहरीलाई समेत देशको दीर्घकालीन हितलाई हेरेर राजसंस्था पुनर्स्थापनको पक्षमा उभिन अपिल पनि गरे।


