काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै पुनरागमनको दिवास्वप्न देखेको टिप्पणी गरेका छन्।
शनिवार पार्टीको कार्यक्रममा बोल्दै प्रचण्डले वर्तमान सरकारको कामले पूर्वराजा हौसिएको भन्दै यस्तो टिप्पणी गरेका हुन्।
‘सरकारको पर्फरमेन्स दिनप्रतिदिन नराम्रो हुँदै गएको छ। जनतामा दिनप्रतिदिन सरकारप्रति असन्तुष्टि र आक्रोश बढ्दै गएको छ,’ उनले भने, ‘सरकारप्रतिको यो आक्रोशलाई विभिन्न राजनीतिक प्रवृत्तिले आआफ्नो हिसाबले प्रयोग गर्ने कोसिस गरिरहेका छन्। अझ त्यसमा पनि इतिहासको रछ्यानमा मिल्काइएका तत्त्वहरू पनि फेरि एकचोटि पुनरागमन हुने हो कि भन्ने दिवास्वप्नमा छन्। र, त्यस खालका प्रचारबाजीहरू पनि भइरहेका छन्।’
फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्रले राष्ट्र जोगाउन आफुलाई साथ दिन आग्रह गरेको भिडियो सन्देश जारी गरेपछि राजनीतिक वृतमा तरंग आएको छ। पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पूर्वराजालाई जेल हाल्नुपर्ने टिप्पणी गरेर विवादमा परेका छन् भने राप्रपाले व्यवस्था नै बदल्न बन्दै विरोध सभा शुरु गरेको छ।


