ताप्लेजुङ- पाथीभरामा केबलकार बनाउने योजनाविरुद्ध उत्रिएका आन्दोलनकारीले सर्वसाधारणका घरमा राँको फालेर आगो लगाउने प्रयास गरेपछि ताप्लेजुङको फुङलिङ बजार तनावग्रस्त बनेको छ।
‘नो केवलकार’ अभियानका समर्थकहरूले मसाल जुलुससहित प्रदर्शन गर्दै बलिरहेको मसाल सर्वसाधारणको घरमा फालेर आगो लगाउने प्रयास गरेका हुन्।
उनीहरूले नाराबाजी गर्दै राँको फालेका थिए। यसपछि सुरक्षाकर्मीले बलिरहेको राँको नियन्त्रणमा लिन खोज्दा झडप भएको हो। शनिबार वीरेन्द्रचोकमा पुगेका आन्दोलनकारीलाई नियन्त्रणमा लिन खोज्दा उनीहरू र सुरक्षाकर्मीबीच धक्कामुक्की भएको हो।
प्रदर्शनकारीले प्रहरीमाथि बलिरहेको राँको र लाठी प्रहार गर्नुका साथै सर्वसाधारणका घरमासमेत राँको फ्याँक्ने अमानवीय काम गरेको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए।
आन्दोलनकारीले सर्वसाधारणका घरमा आगो लगाउने प्रयास गरेपनि आगलागी हुनबाट भने जोगाउन सकिएको शर्माले बताए।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी रवि रावलले घाइतेको यकिन विवरण आउन बाँकी रहेको जानकारी दिए। तत्कालका लागि स्थिति नियन्त्रणमा ल्याइएको प्रहरीको भनाइ छ।


