काठमाडौँ- दलितमाथि हुने विभेदका घटनाको अनुसन्धान प्रभावकारी बनाउन प्रहरी प्रधान कार्यालयमा ‘दलित डेस्क’ स्थापना गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ। डेस्कमा सम्पर्क व्यक्तिसमेत तोक्न गृहको निर्देशन छ।
मन्त्रालयका प्रवक्ता सहसचिव रामचन्द्र तिवारीले प्रहरी प्रधान कार्यालयलाई पत्र लेख्दै दलित डेस्क स्थापना गरी कामकारबाही अघि बढाउन निर्देशन दिएका हुन्।
यसअघि ७७ जिल्लामा स्थापना भएका दलित डेस्कलाई थप प्रभावकारी बनाउन समेत गृहको निर्देशन छ।
‘दलित समुदायका व्यक्तिहरुको समेत सहभागितामा दलित डेस्क स्थापना गरी सामाजिक कुरीतिका रुपमा समाजमा विद्यमान छुवाछुत तथा भेदभाव हटाई कानून कार्यान्वयन तथा सुशासन अभिवृद्धिमा योगदान पुर्याउन परिपत्र गरिएको हो,’ प्रवक्ता तिवारीले भने, ‘डेस्कमा रहने प्रहरी कर्मचारीलाई समन्वयात्मक र थप प्रभावकारी रुपमा सञ्चालन र व्यवस्थापन गर्न भनेका छौं।’
केही दिनअघि गृहमन्त्री रमेश लेखकलाई भेट्न गृह मन्त्रालय पुगेका संयुक्त राजनीतिक दलित संघर्ष समितिका पदाधीकारीसितको भेटमा मन्त्री लेखकले जातीय विभेद र छुवाछुतका विषय हेर्न प्रहरी प्रधान कार्यालयमा दलित डेस्क स्थापना गर्ने बताएका थिए।


