काठमाडौँ- नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले २०८४ सालको निर्वाचन अघि नै पार्टीको महाधिवेशन हुने बताएका छन्। आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै केसीले यस्तो बताएका हुन्।
‘२०८४ सालको निर्वाचनअघि नै पार्टीको महाधिवेशन हुन्छ,’ महाधिवेशनका विषयमा पार्टीका नेताहरुले जेपनि बोल्ने प्रवृति उचित नभएको बताएका उनले भने, ‘आगामी मंसिरमा पार्टीको महाधिवेशन हुनुपर्ने र आवश्यकताका आधारमा एक वर्ष मात्रै म्याद थप गर्न मिल्ने भएकाले आगामी निर्वाचन अघि नै महाधिवेशन हुन्छ।’
कांग्रेस लोकतन्त्रको प्रमुख संवाहक भएको भन्दै उनले पार्टीका नेताहरुले गलत सूचनाका आधारमा महाधिवेशनका विषयमा जे पनि बोल्दा राम्रो सन्देश नजाने उनले उल्लेख गरे।
महाधिवेशनलाई निर्वाचनपछि ढकेल्ने खोजे ठूलो क्षति हुने उनको चेतावनी छ। कांग्रेसको पछिल्लो महाधिवेशन २०७८ साल मंसिरमा भएको थियो। कांग्रेस विधानमा प्रत्येक चार वर्षमा महाधिवेशन गर्नुपर्ने व्यवस्था छ।


