काठमाडौँ- राष्ट्रिय सभाका सांसद राधेश्याम पासवानले नवराजपुर गाउँपालिका-१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिङ्कुकुमारी सदाको सामूहिक बलात्कारमा सङ्लग्न व्यक्तिलाई जतिसक्दो चाँडो पक्राउ गरी कारबाही गर्न माग गरेका छन्।
राष्ट्रियसभाको आइतबारको बैठकको आकस्मिक समयमा सांसद पासवानले घटना भएको १५ दिन हुँदापनि सरकारले दोषीमाथि कारबाही नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।
‘संसद्मा सांसदहरुले उठाएका मुद्दाको कार्यान्वयन किन हुँदैन, संसद्मा सांसदहरुले उठाएको विषयको कार्यान्वयन हुँदैन भने हामी संसद्मा बोल्नु के अर्थ छ, जनतालाई हामीले के जवाफ दिने हो,’ उनले भने।
सांसद पासवानले सदाको बलात्कार घटनाको सम्बन्धमा पटक–पटक संसद्मा कुरा उठाउँदासमेत सुनुवाइ नभएको उल्लेख गर्दै असन्तुष्टि जनाए।
‘बलात्कार भएको घटना भएको आज १५ दिन भएको छ, तर अहिलेसम्म सरकारले संसद्मा आएर जवाफ दिएको छैन, प्रहरीले घटनामा सङ्लग्न व्यक्तिलाई अहिलेसम्म समाउन सकेको छैन, जतिसक्दो चाँडो दोषीमाथि कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउछु,’ उनको भनाइ थियो।
गत माघ ३० गते नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिङ्कुकुमारी सदाको सामूहिक बलात्कार भएको थियो।
माघ २७ गते राति शौच गर्न घर बाहिर निस्केकी रिङ्कुकुमारीको स्थानीय तीन जना युवाबाट सामूहिक बलात्कार भएको थियो। उनी भोलिपल्ट बिहान मात्रै घर पुगेकी थिइन्।
वडा सदस्यसहितका स्थानीयको संलग्नतामा भोलिपल्ट र तेस्रो दिन पञ्चायती बसेर घटना गाउँमै मिलाउने प्रयास गरिएको थियो। सोही साँझ (माघ ३० गते) पीडित किशोरी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्।
बाहिरबाट ढोका बन्द गरिएको अवस्थामा भित्र झुण्डिएको भेटिएकाले उनको मृत्युलाई परिवारले शङ्कास्पद भनेको छ। सदाको बलात्कार र मृत्यु घटनामा आठ जनाविरुद्ध बिहीबार पूरक जाहेरी दर्ता भएको छ।
सदाको शंकास्पद मृत्यु प्रकरणमा अनुसन्धानका लागि भन्दै प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ।
छानबिन समितिका संयोजक तथा एसएसपी शान्तिराज कोइरालाले ८ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको बताए। उनका अनुसार नियन्त्रणमा लिइएकाहरू पञ्चायती बस्नेदेखि प्रत्यक्षदर्शी लगायत छन्।
अवस्था हेरेर छाड्ने सकिने तथा मतियारमा मुद्दा चलाउन समेत सकिने उनले बताए।
‘अहिले सोधपुछका लागि आठ जनालाई नियन्त्रणमा लिएका छौँ। उनीहरूमाथि अनुसन्धान हुँदैछ। अवस्था हेरेर मुद्दा चलाउने वा छाड्ने भन्ने निर्णय हुन्छ,’ उनले भने। तर उनीहरूविरूद्ध जाहेरी भने परेको छैन।


