काठमाडौँ- नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेसका नेता तथा कार्यकर्तामाथि अब अन्याय हुन नदिने प्रतिबद्धता जनाएका छन्।
कांग्रेसको राप्ती सोनारी गाउँपालिका सम्मेलनलाई आईतबार उदघाटन् गर्दै डा.कोइरालाले कांग्रेस कार्यकर्तालाई संरक्षण गर्ने जिम्मेवारी आफुले लिने बताएका हुन्।
‘ढुक्क भएर संगठन गर्नुस्, समयमै सदस्यता नवीकरण गराउनुस्,’ उनले भने।
सबै तहका कांग्रेस कार्यकर्ता पार्टीको विधानअनुसार अघि बढ्न उनको निर्देशन थियो।
व्यक्ति बलियो हुने भन्दा पनि संस्था बलियो बनाउनुपर्ने धारणा राख्दै कोइरालाले आगामी महाधिवेशन निर्धारित समयमै हुनुपर्ने समेत बताए।
निरन्तर जिल्ला भ्रमणमा रहेका कांग्रेस नेता डा. कोइराला शनिबार नेपालगञ्जमा आइपुगेका हुन्।


