काठमाडौं – नाबालिकालाई बन्धक बनाएर कुटपिट गरेको घटनामा काठमाडौं महानगरपालिकाले अनुसन्धानसहित राष्ट्रिय मानव अधिकार आयोगलाई १ सय २० पृष्ठ लामो प्रतिवेदन बुझाएको छ।
सरकार पक्षबाटै मुद्दा नचल्ने निर्णय भएपछि आयोगले स्वविवेकीय अधिकार प्रयोग गर्दै अनुसन्धानको थालनी गरेको थियो।
अनुसन्धान प्रतिवेदन बुझाउन आइतबार दिउँसो काठमाडौं महानगरपालिकाको बाल कल्याण अधिकारीसहित टोली पुल्चोकस्थित मानव अधिकार आयोगको केन्द्रीय कार्यालय पुगेको थियो।
टोलीले आयोगका सचिव मुरारी प्रसाद खरेललाई अनुसन्धान अभिलेख बुझाएको हो ।
अभिलेख बुझेपछि सचिव खरेलले मानव अधिकार हननका घटनामा कुनै पनि व्यक्तिले सत्ता र राज्य शक्तिको दुरुपयोग गर्नु नहुने र बालबालिकालाई यस्ता घटनाको मारमा पर्न नदिन आयोग सचेत रहेको र निष्पक्ष छानबिन गर्ने आश्वासन दिएका छन्।
सरकारी वकिलले मुद्दा नचलाउने निर्णय गरेपछि आयोगले यसबारे अनुसन्धान थालेको थियो।
अनुसन्धानका क्रममा आयोगले महानगरपालिकासँग सम्बन्धित कागजात माग गरेको थियो। आयोगको अनुरोधपछि तीन दिनभित्र १२० पृष्ठ लामो अभिलेख महानगरले बुझाएको हो।
उक्त घटनामा महान्यायाधिवक्ताको स्वार्थ जोडिएको महानगर प्रमुखको सचिवालयका सदस्य धीरज जोशीले बताएका छन्।
नेकपा एमालेबाट निर्वाचित एमाले सांस रेखा शर्माले घरमा राखिएकी बालिकामाथि कुटपिट गरेको यो विषयमा काठमाडौँ महानगरले निकै ठूलो चासो देखाइरहेको छ। उक्त घटनाले काठमाडौँ महानगरपालिका मेयर बालेन साह र नेकपा एमालेबीच आरोप प्रत्यारोप चलेको थियो।
सरकारी वकिल कार्यालयको निर्णय सरकारी वकिल कार्यालय, काठमाडौं र उच्च सरकारी वकिल कार्यालय, पाटनले यस घटनामा मुद्दा नचलाउने निर्णय गरेका थिए। काठमाडौँ महानगरपालिकाले भने गत जेठ ३० गते बाल कल्याण अधिकारीमार्फत बालबालिकाविरुद्धको कसुर र दास बनाउन नहुने कसुरमा जाहेरी दर्ता गराएको थियो।
मानव अधिकार आयोगले अब अनुसन्धानलाई थप विस्तृत बनाउने जनाएको छ। आयोगले निष्पक्ष छानबिन गर्दै दोषीमाथि कानुनी कारबाहीको मार्ग तय गर्ने प्रतिबद्धता जनाएको छ।


