झापा- नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’को उद्घाटन सभामा नै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ रिसले चुर भएका छन्।
सोमबार दिउँसो कचनकवलमा भएको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सञ्चालक नजिकै उभिएपछि श्रेष्ठ रिसले चुर बनेका हुन्। आफूले कुरा राख्ने क्रममा बाधा गरेको भन्दै कार्यक्रमलाई बीचमा नै छोडेर श्रेष्ठ आक्रोशित हुँदै मञ्चबाट बाहिरिएका थिए।
श्रेष्ठले बोलिरहेको समयमा कार्यक्रम सञ्चालक माओवादी केन्द्रका झापा जिल्ला अध्यक्ष राज आचार्य ‘अग्नि’ श्रेष्ठनजिकै पुगेका थिए। यसपछि श्रेष्ठको कन्पारो तातेको हो।
नारायणकाजी रिसले चुर बनेर कार्यक्रमस्थलबाट बाहिरिएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माफी मागेका छन्।
सोमबार साँझ नै माओवादीले झापाकै बाह्रदशीमा अर्को कार्यक्रम राखेको थियो। दिउँसो चुर बनेका नारायणकाजी साँझको कार्यक्रममा पनि देखिएनन्।
माओवादी केन्द्रले सोमबारदेखि झापाको कचनकवल गाउँपालिकास्थित बनियानीबाट सुरु गरेको ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’ सुरु गरेको थियो। यो अभियान पश्चिम कञ्चनपुर पुगेर समापन गर्ने माओवादीले जनाएको छ।
यस्तो थियो दृश्य:
आचार्यतर्फ हेर्दै श्रेष्ठले भने, ‘सक्नुस् भन्न आउनुभा हो? हो? हो भने जान्छु।’
सञ्चालकले भने, ‘होइन।’
श्रेष्ठ : अनि के त यहाँ टुक्क आएर बसेको?
(श्रेष्ठले यति भनेपछि सञ्चालक अलि पर जान्छन्।)
फेरि श्रेष्ठ पछाडि फर्कन्छन् र सोध्छन्, ‘म बिदा हुँ त?’
(कोही व्यक्ति हाँसेको सुनिन्छ।)
यसपछि श्रेष्ठले सम्बोधनलाई निरन्तरता दिन्छन्।
श्रेष्ठ : चाप..समयको चाप एकदम धेरै छ। म थोरै कुरा भन्न चाहन्थेँ। शायद सञ्चालकलाई, कार्यक्रमलाई धेरै चाप भयो होला। म बिदा हुन्छु। लालसलाम!
(श्रेष्ठ बाहिरिन्छन्)
(यसपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलेका थिए।)
‘वरिष्ठ उपाध्यक्ष कमरेडले बोल्दै गर्दा यहाँ अलिकति असहज जस्तो हुन गयो। उद्घाोषक कमरेड…। मेरो त ध्यान जनतातिर थियो। म तपाइँहरूतिर हेरिराखेको थिएँ। वरिष्ठ उपाध्यक्ष कमरेडले बोल्दै गर्दा तपाइँहरूले बडो ध्यान दिएको मैले महसुस गरेको थिएँ,’ प्रचण्डले माफी माग्दै भनेका थिए, ‘अग्निजी (माओवादी केन्द्रका झापा जिल्ला अध्यक्ष राज आचार्य अग्नि/सञ्चालक) यहाँ आउनुभएछ । त्यसले उहाँलाई अलिकति के हो भन्ने पर्न गयो। यसमा अलिकति आत्मसमीक्षा गरेर मेरो गल्ती भए म क्षमा चाहन्छु भनिसकेको हुनाले यसको हामी मूल्यांकन, समीक्षा त गरौँला। तर, फेरि यो ठूलो कुरा होइन। हामी समीक्षा गर्छौं र कहिँ त्रुटी रहेछ भने रियलाइज चाहिँ गर्छौं।’


