काठमाडौं- नेपाल बैंकर्स संघले ब्याजदर घट्ने क्रम सुरु भएको बताएको छ। नेपाल राष्ट्र बैंकले आधार दर गणना विधि परिवर्तन गरेसँगै ब्याजदर घट्न थालेको संघका अध्यक्ष सुनील केसीले बताएका हुन्।
संघले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा चैतमा १०.४७ प्रतिशत रहेको आधार दर वैशाखमा १०.२७ प्रतिशत पुगेको केसीले बताएका थिए। विदेशी मुद्राको सञ्चितिमा भएको सुधार, रेमिट्यान्समा वृद्धि, प्रर्यटनमा सुधार लगायतका कारण तरलतामा सुधार देखिएपछि व्याजदर घट्न थालेको उनको भनाइ छ।
चालू आर्थिक वर्षको ९ महिना निक्षेप ६.५८ प्रतिशत र कर्जा प्रवाह २.९ प्रतिशत मात्रै बढेको उनको भनाइ छ। चालू आर्थिक वर्षको अन्त्यसम्ममा करिब ६ प्रतिशत मात्रै कर्जा प्रवाह हुने सम्भावना रहेको केसीले बताए।
चालू आर्थिक वर्षको अन्त्यसम्ममा सरकारले खर्च बढाएमा बैंकसँग ५ खर्बको हाराहारीमा बैकिङ प्रणालीमा हुने उनले बताए। हाल ३ खर्ब हाराहारीमा तरलता बैकिङ प्रणालीमा रहेको र अबका २ महिनामा थप २ अर्ब थपिने उनले बताए।
चालू आर्थिक वर्ष बैंकहरुको पुँजीकोष (क्यापिटल एड्युकेसी)मा रहेको दबाब रहेको केसीले बताए। हाल ११ वाणिज्य बैंकको क्यापिटल एड्युकेसी अनुपात १० प्रतिशतभन्दा कम रहेको उनले जानकारी दिए।
यस्तै बैंकहरुको नाफा पनि घट्ने क्रममा रहेको भन्दै उनले चिन्ता व्यक्त गरे। बैंकर संघले राष्ट्र बैंकले गरेको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाको स्वागत गरेको छ।


