काठमाडौँ- लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जर सम्झौता भएको छ। काठमाडौँमा आयोजित एक कार्यक्रममा लक्ष्मी बैंकको तर्फबाट सञ्चालक दिनेश पौड्याल तथा सनराइज बैंकको तर्फबाट सञ्चालक बच्छराज तातेडले मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
मर्ज भएपछि बन्ने संस्थाको नाम लक्ष्मी सनराइज बैंक लिमिटेड हुनेछ। सम्पत्ति तथा दायित्व मूल्याङ्कन (डीडीए) प्रतिवेदनका आधारमा दुवै बैंक १:१ को स्वाप रेसियोमा मर्ज हुने सम्झौतामा उल्लेख छ। हाल लक्ष्मी र सनराइजका लगानीकर्ताको नाममा रहेको सेयर संख्या समान मर्जपछि बन्ने लक्ष्मी सनराइजमा सेयर संख्या कायम हुनेछ।
लक्ष्मी बैंकका हालका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह मर्जरपछि बन्ने बैंकमा प्रमुख कार्यकारी अधिकृत रहनेछन्। गाभिएपछि बन्ने बैंकको सञ्चालक समितिको प्रथम बैठकले सञ्चालक समितिको अध्यक्षको चयन गर्ने सहमति छ।
मर्जर कार्यान्वयनमा आउनका लागि सम्झौतापत्रलाई दुवै बैंकको साधारणसभाले पारित गर्नुपर्नेछ। नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयको स्वीकृति प्राप्त गरेपछि दुवै बैंकले एकीकृत कारोबार सुरु गर्न सक्नेछन्।


