काठमाडौँ- सरकारले १८ वर्ष नपुगेका नागरिकलाई सवारी साधन चलाउन नदिने तयारी गरेको छ।
सवारी चालक अनुमतिपत्र प्राप्त गर्ने उमेर हद बढाउने तयारी गरेसँगै १८ नपुगेकाले मोटरसाइकल चलाउन नदिइने तयारी भएको हो।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी तथा यातायात व्यवस्थापन ऐनलाई संशोधन गर्न मस्यौदा तयार गरेको हो। मस्यौदामा अनुमतिपत्र पाउनका लागि १८ वर्ष पुग्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ।
हाल कार्यान्वयनमा रहेको सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा मोटरसाइकल/दुईपाङ्ग्रे र तीनपाङ्ग्रे सवारीको चालक अनुमति पत्र प्राप्त गर्न १६ पुगेको हुनुपर्ने व्यवस्था छ। प्रस्तावित व्यवस्थामा यो उमेरलाई बढाएर १८ वर्ष पुर्याउने तयारी गरिएको छ।
ठूला सवारी चलाउन हाल २१ पुग्नुपर्ने व्यवस्था छ। अब २३ वर्ष पुगेको हुनुपर्ने गरी प्रस्ताव गरिएको छ।
यसैगरी मझौला तथा सानो सवारी चालक अनुमति पत्र प्राप्त गर्नका लागि भने २१ वर्ष हुनुपर्ने उमेर हद प्रस्ताव गरिएको छ। सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा भने १८ वर्ष उमेर पुगेका नागरिकले मझौला तथा साना सवारी सञ्चालन गर्न पाउने व्यवस्था छ।


