काठमाडौँ- सत्तासाझेदार दल नेपाली कांग्रेसले अध्यादेशका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्ने भएको छ।
शुक्रबार सभापति शेरबहादुर देउवा निवासमा बसेको कांग्रेस शीर्ष नेताको बैठकमा यो विषया छलफल भएको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए।
‘अध्यादेशबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्ने कुराकानी भएको छ। प्रधानमन्त्रीसँग छलफल गरी निष्कर्षमा पुगिने छ,’ सचेतक घिमिरेले भने।
सरकारले ल्याएका ६ वटा अध्यादेश संसदमा दर्ता भएपनि निर्णयार्थ पेस भएका छैनन्। राष्ट्रिय सभामा सत्तारुढहरूले बहुमत पुर्याउन नसक्दा संसदमा अध्यादेशहरू रोकिएका छन्।
भूमिबाहेकका अध्यादेशमा जसपा नेपाल सहमत भएको तर भूमि अध्यादेशमा सहयोग गर्न नसकिने उसले प्रस्ट पारेको छ। भूमि अध्यादेश पारित गराउन लागे आन्दोलन गर्ने जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले बताएका छन्।
यस्तै ताप्लेजुङ पाथीभरामा केवलकार बनाउन नहुने मागका विषयमा पनि कुराकानी भएको घिमिरेले बताए। तर केवलकार बनाउने काम रोक्ने पक्षमा कांग्रेस नरहेको उनको भनाइ थियो।
‘नो केबलकारमा कांग्रेस सहमत हुन सक्दैन,’ उनले भने, ‘पाथीभरा केवलकारका विषयमा वार्ता गर्ने र निष्कर्षमा नपुगुन्जेललाई स्थगित गर्ने पक्षमा छौँ। वार्ता र सम्बोधनका लागि कांग्रेस तयार छ।’
यस्तै निर्वाचन विधेयकलगायत ल्याउने विधेयक निर्माणको गतिलाई तीव्रता दिने विषयमा पनि छलफल भएको कांग्रेको भनाइ छ।


