काठमाडौँ- प्रमुख सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले संघीय संसद्का दुवै सदनमा निर्णायार्थ पेश गर्ने निर्णय गरेको छ।
त्यसका लागि सत्तारुढ सबै दलका शीर्ष नेतासँग छलफल गर्ने निर्णय पनि भएको छ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा शुक्रबार बेलुकी बसेको दुई दलका नेता सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले यस्तो निर्णय गरेको हो।
बैठकमा सहभागी एमाले प्रमुख सचेतक महेश बर्तौलाले २१ गते दुवै सदनको बैठकमा अध्यादेश निर्णयार्थ पेस गर्ने निर्णय भएको जानकारी दिए। कुनै कारणले २१ गते सम्भव नभए २२ गते अध्यादेश निर्णयार्थ पेस गरिने उनको भनाइ छ।
बैठकमा संविधान कार्यान्वयनसँग सम्बन्धित अन्य आवश्यक विधेयक ल्याउने विषयमा पनि छलफल भएको थियो।
शुक्रबारको बैठकमा एमालेबाट उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल र प्रमुख सचेतक महेश बर्तौला सहभागी थिए।
कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक र प्रमुख सचेतक श्याम घिमिरे सहभागी थिए।


