सिरहा- पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिरहाका प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित सुरक्षा प्रमुखसँग रिङ्कुकुमारी सदाको मृत्युबारे छलफल गरेका छन्।
तराई-मधेस जागरण अभियान लिएर सिरहा आएको बेला उनले प्रजिअसहित सुरक्षा प्रमुखलाई बोलाएर घटनाबारे जानकारी लिएका हुन्।
अध्यक्ष प्रचण्डले शोकमा रहेको परिवार र आन्दोलनमा रहेको संघर्ष समितिसँग पनि भेट गरेको उल्लेख गर्दै परिवारले हत्या नै भएको आशंकाले गरेका संवेदनशील भएर सत्यतथ्य अनुसन्धान गर्न आग्रह गरे।
बलात्कारपछि पञ्चायतले मिलापत्र गराउन खोजेकाले अनुसन्धान हुनुपर्ने उनको भनाइ थियो।
अध्यक्ष प्रचण्डले सिरहामै दाइजोसँग जोडिएको घटनामा अर्को एक महिलाको पनि मृत्यु भएको र यसको अनुसन्धानमा ध्यान नपुगेको परिवारबाट गुनासो आएकाले सो घटनाको पनि यथार्थ अनुसन्धान गर्न आग्रह गरेका थिए।
जवाफमा प्रजिअ र सुरक्षा प्रमुखहरुले प्राप्त जाहेरीका आधारमा अनुसन्धान भइरहेको र अनुसन्धान प्रक्रियामा दबाब नरहेको जानकारी गराएका थिए।


