काठमाडौँ- राज्यका निकायहरुकै अयोग्यता र असंवेदनशीलताका कारण नेपालको संविधान कार्यान्वयन नै नहुने विन्दुमा पुगेको पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले बताएका छन्।
पूर्व प्रधानन्यायाधीश अनूपराज शर्माको ‘को अनूप’ नामक सस्मरणात्मक कृतिको शनिबार आयोजित विमोचन कार्यक्रमको अवसरमा बोल्दै उनले यस्तो धारणा राखेका हुन्।
‘संविधानमा केही कुरा भए हुने थियो, धेरै चिजलाई अटाउन खोजियो। देशको आवश्यकता तथा दक्षताको ख्याल गरिएन। अहिले संविधान कार्यान्वनय नहुने विन्दुमा पुगिसकेको छ। यसको अयोग्यता र असंवेदनशीलताको जिम्मा सबैले लिनु पर्दछ’ श्रेष्ठले भने।
संविधानका व्यवस्थालाई कार्यान्वयन गर्ने दक्षताको विकास नहुनु र गुनासो सम्बोधन गर्ने वुद्धिमताकै संकट अहिले देखिएको उनले आंैल्याए। मानव अधिकार आयोगको सिफारिस कार्यान्वनय नहुनु, अदालतका फैसला कार्यान्वयन नहुनु केवल न्यायमै पहुँच नहुनु मात्रै होइन न्यायमा विलम्ब हुनु भएको उनले तर्क गरे।
अनूपराज शर्माले न्यायपालिका भित्रका वेथिति मानव अधिकार संरक्षणमा देखिएका चुनौति लगायत सामाजिक, साहित्यिक, भाषिक, ऐतिहासिक प्रसंग अन्तरदृष्टि सहित सुरुचिपूर्ण रुपमा उठाएको श्रेष्ठले बताए। प्रजातन्त्र,न्याय र मानव अधिकारप्रति लगाव र प्रतिवद्ध शर्मालाई राजनीतिक नेतृत्वले सजिलै ठम्याउन नसकेको बेला शर्माले यो पुस्तक मार्फतै त्यसको जवाफ दिएको श्रेष्ठले बताए।
कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. सुरेशराज शर्माले आफैले विएस्सी पठाएको छात्र अनूपराज न्याय क्षेत्रमा चहकिलो नक्षेत्र भएकोमा गर्व लागेको बताए। उनले भने ‘सरल र असल चरित्रले भरिपूर्ण व्यक्तित्व अनूपले पुस्तकमा उठाएका गम्भीर विषय सरल रुपमा प्रस्तुत भएका छन्। किताब आत्मप्रशांसा नभइकन विचार र ज्ञानमूलक छ।’
कार्यक्रममा बोल्दै पूर्व न्यायाधीश बलराम केसीले न्यायपालिकाको नेतृत्वकर्ताको रुपमा राजनीतिक पृष्ठभूमीको व्यक्ति अनूपराज शर्मा आएपनि न्याय र निष्ठामा अडिग रहेको पाएको बताए। शर्माको समयमा न्यायपालिका भित्र भ्रष्टाचार हुन नपाएको केसीको भनाइ थियो। ‘उहाँले न्यायपालिका सुधार्न दिनुभएको अनुभव र ज्ञान सर्वाेच्च अदालत न्याय परिषद् र संवैधानिक परिषद्ले मार्ग दर्शनको रुपमा लिनु पर्दछ।’
पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले न्यायपालिका विवादै विवादको घेरामा तानिएको बेला अनूपराज शर्माको समयमा भएका फैसला र न्यायलय सुधारका कार्य महत्वपूर्ण र ऐतिहासिक साहसिक कार्य भएको औल्याइन्। ‘प्रधानन्यायधीशमा सिफारिस गर्ने शक्ति केन्द्रले विभिन्न स्वार्थ पूरा नभएको वाहनामा चित दुखाउने र प्रधानन्यायाधीश माथि नै छुरा प्रहार गर्ने प्रवृत्ति हावी भइरहेको छ। यो न्यायपालिकाको एउटा विकृति रुप हो।’
‘यस्तो अवस्थामा पनि कठोर आत्मवल साथ काम गर्न शर्माले नै सिकाउनु भयो,’ उनले सुनाइन्।
पूर्व प्रधानन्यायधीश मिन बहादुर रायमाझीले अनूप राज जस्तो सक्षम इमान्दार र असल चरित्रको न्यायाधीशलाई आफ्नै पालामा न्यायपालिकाको नेतृत्व सुम्पन पाउँदा गर्व लागेको अनुभव सुनाए।
राजनीतिककर्मी, शिक्षक, वकिल, न्यायाधीश, मानव अधिकार संरक्षक जस्ता विभिन्न क्षेत्रमा रहेर काम गर्नु भएकाले समाजलाई राम्रोसँग बुझेका शर्माको ज्ञान र अनुभव नयाँ पुस्ताका लागि महत्वपूर्ण हुने रायमाझीले बताए।
लेखक अनूपराज शर्माले भावी पुस्ताका लागि राम्रो नेपाल हस्तान्तरणका लागि सबैले काम गर्नुपर्ने बेला आएको बताए। ‘परिस्थिति अलि गम्भीर बन्दै गइरहेको संकेत मिलिरहेको छ। अब सबैले त्यसतर्फ सोच्नुपर्दछ,’ उनले भने।


