काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय समिति सदस्य मोहन थापा अमेरिकामा पक्राउ परेको विषयमा पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले प्रष्टीकरण दिएका छन्। झाका अनुसार थापा कानुनी प्रक्रिया समाधान गर्नका लागि अमेरिका पुगेका बेला अमेरिकी इमिग्रेसनले हिरासतमा लिएको हो।
थापा आफ्नो पार्टीको केन्द्रीय सदस्य भएपनि उनले आफूलाई जिम्मेवारीबाट अलग गरिदिन भन्दै पार्टीमा निवेदन दिएको कार्यवाहक प्रवक्ता झाले आइतबार जिकिर गरेका छन्।
‘रास्वपाका केन्द्रीय सदस्य मोहन थापा अमेरिकन इमिग्रेसनको हिरासतमा पर्नुभएको जानकारीमा आएको छ,’ झाको दाबी छ, ‘मोहन थापाजीले यस अगावै नै केही व्यक्तिगत कानुनी प्रक्रिया स्पस्ट र समाधान गर्नु छ। सो किनारा नलागेसम्मको लागि केन्द्रीय सदस्यको जिम्मेवारीबाट बाहिर रहन निवेदन दिएर जानुभएको थियो।’ तर रास्वपाले यसअघि नै थापाले त्यस्तो निवेदन दिएको विषयमा कुनै पनि कुरा जानकारी गराएको थिएन।
रास्वपा केन्द्रीय सदस्य थापा एक साता अघि नै नेपालबाट अमेरिका पुगेका थिए। अमेरिकामा उनी इमिग्रेसनको प्रक्रिया पूरा नहुँदै पक्राउ परेका हुन्। अमेरिका अवतरण गरेपछि पेन्सिल्भेनिया विमानस्थल क्षेत्रबाट नै उनी पक्राउ परेको बताइएको छ।
संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा आरजु राणा देउवा न्युयोर्क गएका बेला आयोजना गरिएको स्वागत कार्यक्रममा कालो झण्डा र जुत्ताको माला देखाउन थापाले फेसबुकबाट आह्वान थिए।
यसपछि न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासले समारोहस्थलको सुरक्षा संवेदनशीलताबारे सम्बन्धित निकायको सुझाव समेतलाई ध्यानमा राखी आज आयोजना गरिएको कार्यक्रम स्थगन गरिएको बताएको थियो। उक्त कार्यक्रम २२ सेप्टेम्बर २०२४ मा आयोजना गर्ने भनिएको थियो।
पक्राउ परेका थापा रास्वपा सभापति रवि लामिछानेका अतिनिकट मानिन्छन्। थापा पक्राउ पर्नुको कारण नखुलेपनि उनलाई फिलाडेल्फियामा राखिएको छ। अमेरिकास्थित गैरआवासीय नेपाली संघका एक पदाधिकारीका अनुसार थापा बाल्टिमोरस्थित नेपालीको संस्था (बाना)का पूर्वअध्यक्ष समेत रहेका थापा पक्राउबारे साताअघि नै जानकारी दिइएको थियो।
थापा केही वर्षअघि सवारी चालक अनुमतिपत्र दुरुपयोग घरेको घटनामा मुद्दा चलेर जेलसमेत बसेका थिए। त्यसछि उनको अमेरिकी नागरिकता रद्द भएको थियो। उनी यतिबेला ग्रीन कार्डमा छन्।


