बुटवल- नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले नै जनतालाई झुक्याइरहेको आरोप लगाएका छन्। नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै केसीले यस्तो बताएका हुन्।
‘२०८७ मा संविधान संशोधन गर्छौँ भन्नु सोझै जनता झुक्याउने विषय हो। सरकार बनाउँदा कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमति विपरीत पनि हो’, नेता केसीले भने, ‘संविधान संशोधनका लागि अहिल्यैबाट प्रक्रिया थाल्नुपर्छ, पहिला सत्तारुढ दलभित्र पनि छलफल हुनुपर्छ त्यसपछि संसदभित्र रहेका र संसद बाहिर रहेका दलहरुपनि समेटेर सर्वदलीय समिति बनाएर व्यापक छलफलबाट निचोड निकाल्नुपर्छ।’
संसदभित्र र बाहिर रहेका दल समेटेर सर्वदलीय समितिमा व्यापक छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने उनको भनाइ छ।
नेता केसीले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र हालको समानुपातिक प्रणालीको पनि विकल्पमा जानुपर्ने बताए।
संसदको पहिलो र दोस्रो ठूलो दलको सरकार बन्दा पनि नागरिकमा निराशा र असन्तुष्टि कायमै रहेको भन्दै नेता केसीले मुलुकमा सुशासन कायम नहुनु र भ्रष्टाचार व्याप्त हुनु मुख्य कारण भएको औंल्याए।


