काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पूर्वराजालाई पनि आफूले राजा नै भन्ने बताएका छन्।
प्रेस युनियनले झापाको विर्तामोडमा शुक्रबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन्।
‘राजा भन्नुस्, पूर्व हो, तर म राजा नै भन्छु। इन्टरनेसनल चलन के छ भने प्रेसिडेन्ट भइसकेको मान्छेलाई प्रेसिडेन्टबाट छोड्छन् नि (उनीहरुलाई पनि प्रेसिडेन्ट नै भन्छन्) ! हामी नेपालीहरू चाहिँ पूर्व भन्छौँ,’ उनले भने, ‘तर, अमेरिकामा जानुभयो भने (पूर्वराष्ट्रपतिलाई पनि) राष्ट्रपति नै भन्छन्।’
उनले पत्रकारको जिज्ञासा मेटाउने क्रममा आफूलाई राजा फर्किनेमा विश्वास नभएको बताए।
‘तपाईंहरूले पनि अहिले सोध्नुभएको के भने राजा फर्किन्छ त भनेर। मलाई लाग्दैन,’ नेता कोइरालाले भने, ‘माई खोलामा धेरै पानी बगिसक्यो, यो १२–१५ वर्षमा। अब मलाई विश्वास छैन।’
कोइरालाले राजावादीले राजा फर्काउने प्रयासस्वरुप गरिरहेका क्रियाकलापलाई स्वाभाविक भएको आशय पनि व्यक्त गरे।
‘मान्छेले कोसिस त गरिराखेका हुन्छन्। कोसिसलाई चेक गर्न हामीले अट्याक गर्ने भन्दा पनि राम्रो काम गरेर चेक गर्नुपर्ने हो,’ उनले भने, ‘त्यो हो राजाको कन्टेस्टमा।’


