काठमाडौँ- दुवै खुट्टा नभएपनि सगरमाथाको सफल आरोहण गरी काठमाडौँ फर्केका हरि बुढामगरलाई काठमाडौँमा भव्य स्वागत गरिएको छ। उनलाई स्वागत गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराँती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।
शुक्रबार सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणपछि फर्किएका बुढा मगरको साथमा सरकार रहेको मन्त्री किराँतीले बताए। सगरमाथाको सफल आरोहण गरेकोमा उनलाई बधाई दिएका मन्त्री किराँतीले बुढाका आमाबुवालाई पनि धन्यवाद ज्ञापन गरेका थिए।
अफगानीस्तानको युद्धमा तालिबानको एम्बुसमा परेर दुवै खुट्टा गुमाएका पूर्वगोर्खा सैनिक बुढा मगरले शुक्रबार दिउँसो ३ बजे सगरमाथाको चुचुरोमा पाइला टेकेका थिए।
सगरमाथाको आरोहन सफलतापूर्वक गरेपछि बुढा मगरको चर्चा चुलिएको छ। सन १९७९ मा रोल्पाको मिरुल गाउँमा जन्मिएका उनी १९ वर्षको उमेरमा बेलायती सेनामा भर्ती भएका थिए।


