काठमाडौँ- राजतन्त्र पुनर्स्थापना गर्नुपर्ने माग राख्दै राजनीति गरिरहेका शक्तिहरूले काठमाडौँमा आइतबार दिउँसो शक्ति प्रदर्शन गर्ने भएका छन्। पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौँ फर्कने दिनको मेसो मिलाएर राजावादीहरूले शक्तिप्रदर्शन गर्ने तयारी गरेका हुन्।
पोखराबाट काठमाडौं आउने पूर्वराजा ज्ञानेन्द्र शाहलाई विमानस्थलबाट निर्मलनिवाससम्म नारा–जुलुससहित पुर्याउने राजावादीहरूको तयारी छ।
एक महिनादेखि पोखरामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह अपराह्न त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि त्यही क्षेत्रबाट नाराजुलुसहितको प्रदर्शन सुरु हुनेछ। शक्ति प्रदर्शनमा सहभागी हुन राप्रपा र राप्रपा नेपाललगायतका दलले सार्वजनिक रूपमा नै आह्वान गरिसकेका छन्। शक्तिप्रदर्शन गौशाला, चाबहिल, महाराजगन्ज चोक हुँदै निर्मलनिवास पुर्याउने कार्यक्रम छ।
पूर्वराजा शाहले प्रजातन्त्र दिवसका अवसरमा ७ फागुनमा एक भिडियो सन्देश जारी गरी दलहरू असफल भएको आरोप लगाउँदै एकता र समृद्धिका लागि आफूलाई साथ दिन आह्वान गरेका थिए। त्यसपछि राजावादीहरू सक्रिय बन्न थालेका हुन्।
‘संवैधानिक राजसंस्थासहितको प्रजातन्त्रका लागि नवीन राजनीतिक समझदारीका लागि दबाब दिने हाम्रो उद्देश्य हो। ठूलो जनसमूहले आइतबार प्रदर्शन गर्ने छ,’ राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले भने, ‘राप्रपाले शान्तिपूर्ण राजनीतिको नवीन समझदारी प्रस्ताव गरेको छ। त्यहीअनुसार हामी अघि बढ्छौँ।’
पूर्वराजाको सन्देशपछि राप्रपाले पोखरा, भैरहवा, नेपालगन्ज, धनगढी, जनकपुर, वीरगन्ज र काठमाडौंमा उनको पक्षमा प्रदर्शन र सभा गर्दै आएको छ। बुधबार बसेको राप्रपा पदाधिकारी (अध्यक्ष, उपाध्यक्ष र महामन्त्रीहरू) बैठकले पूर्वराजाको स्वागतमा त्रिभुवन विमानस्थलमा सहभागी हुन सबैलाई आह्वान गर्ने निर्णय गरेको थियो। पूर्वराजा आफैँले सबैलाई आह्वान गरेको अवस्थामा उहाँकै वरिपरि सबै गोलबद्ध हुनुपर्ने भन्ने सन्देश दिन प्रदर्शन गर्न लागिएको राप्रपाको भनाइ छ।
राप्रपाले राजा र हिन्दुराष्ट्र पुनस्र्थापनाको मुद्दामा सक्रिय दल र समूहसँग वार्ता र समन्वयका लागि वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको नेतृत्वमा महामन्त्री डा. धवलशमशेर राणासमेत रहेको कार्यदल पनि गठन गरेको छ।
यस्तै दुर्गा प्रसाई नेतृत्वको राजवादी समूह, संस्कृतिविद् डा. जगमान गुरुङ्ले नेतृत्व गरेको समूह, पूर्वमन्त्री डा. केशरबहादुर बिष्ट नेतृत्वको समूह, अनिल बस्नेतले नेतृत्व गरेको शिव सेना नेपाललगायतले पनि अलग प्रदर्शन गर्ने भएका छन्।
दुई महिनाअघि काठमाडौंबाट निस्किएका पूर्वराजा ज्ञानेन्द्रले पश्चिम नेपालको लुम्बिनी र गण्डकी प्रदेशका विभिन्न मठमन्दिरको दर्शन तथा सर्वसाधरणसँग भेटमा समय बिताएका थिए।
राजावादीहरूले काठमाडौँमा शक्ति प्रदर्शन गर्ने भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन्। शनिबार साँझ राष्ट्रपतिसँगको भेटका लागि ओली शीतलनिवास पुगेका थिए। समसामयिक राजनीतिक विषयमा प्रधानमन्त्री र राष्ट्रपतिबीच कुराकानी भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। प्रधानमन्त्री ओलीले पार्टीका केही उच्च नेताहरूसँग पनि समसामयिक परिस्थितिबारे कुरा गरेका छन्।
उता प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले राजनीतिमा विकसित घटनाक्रमबारे छलफल गर्न भन्दै जागरण अभियान स्थगित गरेको छ। रौतहटमा पुगेर माओवादीले अभियान स्थगित गर्दै काठमाडौँ फर्कने निधो गरेको हो। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एक साताका लागि मधेश केन्द्रित अभियान स्थगित गराएर काठमाडौँ फर्किएका हुन्।
माओवादी नेताहरू काठमाडौं फर्किएलगत्तै आइतबारै पार्टीको पदाधिकारी बैठक पनि अध्यक्ष प्रचण्डले बोलाएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।
देशको पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा अध्यक्ष दाहालले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि छलफल गर्ने तयारी गरेका छन्।
शुक्रबार मात्र नेपाली कांग्रेसका सभापति देउवासँग दाहालले टेलिफोनमा कुराकानी गरेका थिए। काठमाडौं फर्किपछि दाहालले ओली र देउवासँग भेटघाट गर्ने तयारी गरेका छन्।


