काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले दुवै खुट्टा गुमाएर पनि सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी फर्किएका हरि बुढामगरलाई बधाई सन्देश पठाएका छन्। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेल र राष्ट्रपतिकी छोरी अवज्ञा पौडेलले राष्ट्रपतिले पठाएको बधाई सन्देश शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमबीच बुढामगरलाई हस्तान्तरण गरेका हुन्।
ब्रिटिस गोर्खा सेनामा कार्यरत रहँदा युद्ध मैदानमा दुवै खुट्टा गुमाएपछि पनि कृत्रिम खुट्टाको सहायताले सगरमाथा आरोहण गरेका हुन्। बुढामगरले बनाएको किर्तिमान लगन, साहस र गौरवको प्रतीकका रुपमा सबैका लागि सदैव प्रेरणाको विषय हुनेमा आफूलाई विश्वस्त रहेको राष्ट्रपति पौडेलले दिएको बधाई सन्देशमा उल्लेख छ।
‘घुँडामुनिको शारीरिक भाग गुमाउँदा पनि कुनै हिम्मत नहारी आफ्नो दैनिक जीवनयपानलाई सहज एवम् सरल बनाउँदै सगरमाथा आरोहणजस्तो दुरुह तथा साहसिक कार्य सफलतापूर्वक सम्पन्न गर्नु तपाईँको आफ्नो दृढ इच्छाशक्ति र मेहनतको प्रतिफल हो,’ राष्ट्रपति पौडेलको सो सन्देशमा भनिएको छ।
राष्ट्रपति पौडेलले शारीरिक अशक्त व्यक्ति कोहीभन्दा केहीमा पनि कमजोर हुँदैनन् भन्ने आत्मविश्वास अन्य व्यक्तिमा जगाउन यो सफलता उदाहरणीय बनोस् भन्ने कामना गरेका छन्।

मंगलबारै सगरमाथाको सफल आरोहण गरी काठमाडौँ फर्केका बुढामगरलाई काठमाडौँमा भव्य स्वागत गरिएको थियो। उनलाई स्वागत गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराँती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।
शुक्रबार सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणपछि फर्किएका बुढा मगरको साथमा सरकार रहेको मन्त्री किराँतीले बताएका थिए। सगरमाथाको सफल आरोहण गरेकोमा उनलाई बधाई दिएका मन्त्री किराँतीले बुढाका आमाबुवालाई पनि धन्यवाद ज्ञापन गरेका थिए।
अफगानीस्तानको युद्धमा तालिबानको एम्बुसमा परेर दुवै खुट्टा गुमाएका पूर्वगोर्खा सैनिक बुढा मगरले शुक्रबार दिउँसो ३ बजे सगरमाथाको चुचुरोमा पाइला टेकेका थिए।
सगरमाथाको आरोहण सफलतापूर्वक गरेपछि बुढा मगरको चर्चा चुलिएको छ। सन १९७९ मा रोल्पाको मिरुल गाउँमा जन्मिएका उनी १९ वर्षको उमेरमा बेलायती सेनामा भर्ती भएका थिए।


