काठमाडौँ- नेपाल पर्यटन बोर्डले छिमेकी मुलुक भारतीय पर्यटकलाई लक्षित गर्दै अहमदाबादमा आयोजित ‘इन्डिया इन्टरनेशनल ट्राभल मार्ट (आईआईटीएम)’मा नेपालका पर्यटकीय गन्तव्यको प्रदर्शनी गरेको छ।
भारतको अहमदाबादस्थित वाईएमसीए कन्भेन्सन सेन्टरमा आयोजित आईआईटीएममा नेपालले आफ्नो पभेलियन स्थापना गरेर नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा विभिन्न १५ नेपाली पर्यटन व्यवसायीहरुले नेपालका पर्यटकीय गन्तव्यहरुको प्रदर्शनी गरेका हुन्।
नेपाल पेभेलियनमा भारतीय पर्यटक तथा पर्यटन व्यवसायीले नेपालका गन्तव्यबारे जानकारी लिएका थिए।
नेपाल पभेलियनमा नेपालका विश्व सम्पदा सूचीमा परेका सांस्कृतिक धरोहर, प्राकृतिक सुन्दरता तथा साहसिक पर्यटन, पदयात्रा, पर्वतारोहरण, जंगल सफारी, धार्मिक पर्यटनलगायतका विभिन्न पर्यटकीय गन्तव्यको जानकारी र प्रचार सामग्रीहरुको प्रदर्शनी राखेको बोर्डले जानकारी दिएको छ।
नेपालले भारतको ठूलो जनसंख्यालाई लक्षित गर्दै पर्यटन प्रवर्द्धनका लागि डकुमेन्ट्रीलगायतका भिडियो सामग्रीसमेत प्रदर्शन गरेको छ।
आईआईटीएमले नेपाल-भारतबीचको पर्यटन सम्बन्धलाई सुदृढ पार्ने प्लेटफर्म प्रदान गरेको र यसले दुवै देशका पर्यटन व्यवसायीलाई पनि सहकार्यको अवसर प्रदान गरेको बोर्डका प्रबन्धक खड्कविक्रम शाहले जानकारी दिए।
नेपाली प्रतिनिधिमण्डको नेतृत्व गर्दै आईआईटीएममा सहभागी भएका प्रबन्धक शाहले नेपालका पर्यटन व्यवसायीहरुले भारतीय पर्यटन व्यवसायीहरुसँग नेपालको पर्यटन प्रबर्द्धनका विषयमा केही सहकार्यको सम्झौता गरेकोसमेत जानकारी दिएका छन्।


