गोरखपुर- फागुन २५ गते पूर्वराजाको स्वागत जुलुसमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो देखाएका नेपाली नागरिक प्रदीपविक्रम राणा भागेर भारत पुगेका छन्। भारतको गोरखपुर सहरमा उनी पुगेका हुन्।
भारतीय सञ्चार संस्था नवभारत टाइम्ससँग कुराकानी गर्दै उनले नेपालमा आफूलाई सुरक्षा चुनौती भएको भन्दै भारततर्फ भागेका हुन्। मुख्यमन्त्री योगीको पोस्टर देखाउनु आफूलाई महँगो साबित भएको उनको दाबी छ।
‘प्रहरी मेरो पछि लागिरहेको छ र म नेपाल छोडेर भारतमा शरण लिनु पर्यो,’ उनले नवभारत टाइम्ससँग भनेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी नेताको पोस्टर देखाएर प्रदर्शन गरिएको भन्दै आलोचना गरेका छन्। यसपछि उनका विषयमा चर्चा चुलिइरहेको छ।
५८ वर्षीय राणा नेपालबाट भागेर मंगलबार गोरखपुर पुगेका थिए। योगीसँग मिलेर नेपालको वर्तमान सरकारविरुद्ध षड्यन्त्र गरिरहेको आरोप आफूमाथि लागेको उनको भनाइ छ।
‘प्रहरी मेरो पछि लागिरहेकाले म भारत भाग्नु पर्यो,’ उनले भनेका छन्। उनले आफूलाई काठमाडौँ महानगर-१६ को स्थायी बासिन्दा भएको बताएका छन्।
राणाले योगी आदित्यनाथ कहिल्यै नभेटेको बताएका छन्। उनले भारतका कुनै राजनीतिज्ञसँग भेट नएको उल्लेख गरे। ‘म हाम्रा राजा ज्ञानेन्द्र र योगी आदित्यनाथलाई सम्मान गर्छु,’ उनले भनेका छन्, ‘यो मेरो एक मात्र अपराध भयो। म नेपाललाई हिन्दू राष्ट्र पुनर्स्थापनाको पक्षधर हुँ।’धेरै मुस्किलले आफू नेपालबाट भागेर गोरखपुरसम्म पुग्न सफल भएको उनको भनाइ छ।
उनले आफूलाई कसैले पनि योगी आदित्यनाथको फोटो राख्न नउक्साएको दाबी गरे। वर्तमान सरकार नहटेसम्म आफू नेपाल नफर्कने उनको भनाइ छ।


