रुपन्देही- रुपन्देहीको ओमसतियामा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ७१ केजीको माला लगाएर स्वागत गरिएको छ।
ओमसतिया ६ जमुहानी पोखरा ताल व्यवस्थापन समितिले प्रचण्डलाई उनको उमेरअनुसार प्रतिवर्ष एक केजीका दरले माला बनाएर लगाइदिएको हो।
उनको उमेर (वर्ष) बराबरकै परिमाणको फूलको माला लगाइदिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा ओमसतिया गाउँपालिका-६ का अध्यक्ष शिवकुमार धवलले जानकारी दिए। प्रचण्डलाई ७१ किलोको मालाले सम्मान गरिएको भन्दै माओवादी नेता देवेन्द्र पाण्डे उत्साहित सुनिए।
प्रचण्डलाई सम्मान गर्न पहिराइएको ७१ किलोको मालाले कार्यक्रममा प्रसंशा पाएपछि सामाजिक सञ्जालमा भने त्यसका विषयमा विभिन्न टीकाटिप्पणी भइरहेका छन्। अझसम्म पनि ठूलो परिमाणको माला लगाइदिएर भक्तिभाव प्रदर्शन गर्ने कार्यकर्ताको शैली कत्ति पनि नफेरिएको भन्दै सामाजिक सञ्जालमा टिप्पणी भइरहेको छ। यसका साथै ठूलो मालामा ठाँटिएर आफू अरूभन्दा ‘सुपेरियर’ भएको देखिने ढोङ गरेको भन्दै प्रचण्डको पनि आलोचना भइरहेको छ। ‘दास प्रथा अन्त्य गरेर स्वेच्छाले दास बन्दै छन् नेपाली,’ ७१ किलोको माला राखिएको पोस्टमा कृष्ण लामिछाने कम्मेन्ट गर्छन्। यस्तै अम्बिका ठकुरी लेख्छन्, ‘यस्तो त कि झोलेले गर्लान् कि आफैँ खर्च गरेर गर्लान्।’
कतिपय सञ्जाल प्रयोगकर्ताले भने ७१ किलोको मालाले प्रचण्डलाई लगाइदिएर व्यंग्य गरिएको पनि टिप्पणी गरेका छन्। ७१ किलोको मालाको अर्थ उनको उमेर ७१ वर्ष पुगेको छ। उमेर पाको भइसक्दा पनि उनले आफ्नो पार्टीको नेतृत्वमा कसैलाई अघि बढाउन चाहेका छैनन्। आफूले कसैलाई पनि योग्य नदेखेकाले कसैलाई पनि अघि नबढाएको उनले बेलामौकामा सार्वजनिक मञ्चबाट नै अभिव्यक्ति दिने गरेका छन्। देशमा पनि आफूजतिको उपयुक्त पात्र कोही पनि नभएको दाबी गरिरहने भएकाले प्रचण्डका ती अभिव्यक्ति र व्यवहारलाई व्यंग्य गर्नकै लागि त्यति ठूलो माला लगाइएको टिप्पणी सञ्जालमा भइरहेको छ।


