काठमाडौँ- ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ बहुमतले पारित भएको छ।
सोमवारको प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले मत विभाजनको माग गरेपछि भएको मत विभाजनमा पारित गर्ने पक्षमा बहुमत जुटेको हो।
विधेयकको पक्षमा ९६ मत पर्दा विपक्षमा ४९ मत परेको थियो। मतदानमा १४५ जना सांसद सहभागी भएका थिए।
प्रतिपक्षी दलहरू नेकपा माआवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका सांसदहरू मत विभाजनको माग गरेपछि प्रक्रिया मतविभाजनमा तर्फ प्रवेश गरेको थियो। २८ जना सांसदले उठेर मत विभाजन गर्न माग गरेका थिए।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले मत विभाजनको माग गर्दै विधि र प्रक्रिया पुर्याएर मत विभाजनको माग गरेका थिए।
उनको मागपछि सभाको सभापतित्व गरिरहेकी उपसभामुख इन्दिरा राना मगरले मत विभाजनको प्रक्रिया सुरु गरेकी थिइन्।


