काठमाडौँ- नेपाल प्रहरीको ३१ औँ महानिरीक्षकमा दीपक थापा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्रहरी महानिरीक्षकका नियुक्त गरेको एक मन्त्रीले जानकारी दिएका छन्।
आइजी वसन्त कुँवरको कार्यावधि सोमबार मध्यरातदेखि सकिँदै छ। थापा केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख छन्। उनले आगामी ६ महिना प्रमुख प्रमुखको जिम्मेवारी सम्हाल्नेछन्।
नयाँ महानिरीक्षकका लागि थापाबाहेक प्रहरी प्रशिक्षण प्रतिष्ठान प्रमुख सुदीप गिरी र उपत्यका प्रहरी कार्यालय प्रमुख टेकबहादुर तामाङ पनि प्रतिष्पर्धामा थिए। तर, तामाङ र गिरीलाई पछि पार्दै थापा महानिरीक्षक बनेका हुन्।
थापा, गिरी र तामाङ २०५२ भदौ १९ गते एकैदिन सेवा प्रवेश गरेका अधिकारीहरू हुन्। नेपाल प्रहरीमा हालका तीनै जना प्रतिस्पर्धी एकै ब्याचमा भर्ना भए पनि एआइजी थापा एआइजी पदमा बढुवा हुँदा प्रहरी महानिरीक्षक कुँवरसँगै बढुवा भएका हुन्। यसअनुसार एआइजीको वरियतामा थापा १ नम्बरमा थिए।


