कैलाली- कैलालीको सिमली क्षेत्रको जंगलमा बसेका डेढ सयभन्दा बढी विदेशी नागरिकलाई २४ घण्टाभित्र उक्त क्षेत्र खाली गर्न प्रशासनले निर्देशन दिएको छ।
पर्यटन भिसामा नेपाल आएका अमेरिका, चीनसहित विभिन्न युरोपेली मुलुकका नागरिकहरू दुई सातादेखि घोडाघोडी -९ को सिमली जंगलमा बसिरहेका थिए। ती विदेशी नागरिकहरू अर्धनग्न भएर हिँड्ने, अस्वभाविक गतिविधि गर्नेजस्ता स्थानीयवासीबाट गुनासो आएपछि पुगेका प्रशासनले यस्तो निर्देशन दिएको हो।
‘रेन्बो फेमली ग्यादरिङ’ नामका उनीहरूले जंगलमा बस्न कुनै पनि निकायबाट अनुमति लिएका छैनन्। उनीहरुले आफूहरू प्रकृतिमा रमाउने नेचर लभर भएको र विभिन्न देशमा पुगेर जंगलमा बस्ने गरेको बताएका छन्।


