काठमाडौं– मनोहरा जग्गा एकीकरण आयोजनाले आयोजना क्षेत्रभित्र रहेका अतिक्रमित घरटहरा, छाप्रो, पर्खाललगायत संचना हटाउन सुरु गरेको छ। सडक अतिक्रमण गरी बनाइएका मनोहरा जग्गा एकीकरण आयोजना क्षेत्रभित्रका अतिक्रमित घरटहरा भत्काउने अभियान सुरु भएको आयोजनाका उपनिर्देशक निर्मलराज बरालले बताए।
आयोजना क्षेत्रभित्रका सबै क्षेत्रमा माइकिङ गरेर अतिक्रमित घरटहरा, छाप्रो, भर्याङ, पर्खाललगायतका संचना हटाउन सातदिने सूचना जारी गर्ने र सूचनालाई अटेर गरे त्यस्ता संरचना धमाधम आयोजनाले आफैं डोजर लगाएर भत्काउने उनको भनाइ छ।
यसअघि अतिक्रमति घरटहरा, छाप्रा, भ¥याङ, पर्खाललगायतका संरचना हटाउन आयोजनाले ५ भदौ र १७ फागुन २०७९ मा सूचना प्रकाशित गरेको थियो। ती सबै क्षेत्रमा पटक–पटक माइकिङ गरेर सूचना जारी गर्नुका साथै घरघरमा गएर सूचना टाँस गर्दा पनि अटेर गरेकाले घरटहरा भत्काउन थालिएको गरेको बरालले बताए।
अभियानअन्तर्गत आयोजनाले मध्यपुरथिमि नगरपालिका–१ मनोहरा पुलसँगै आयोजनाको क्षेत्राधिकारभित्र सडकको मापदण्ड मिचेर बनाइएका तीन टहरा मंगलबार भत्काएको छ। यसलाई तीव्रता दिँदै भक्तपुर र काठमाडौंतर्फका सबै अतिक्रमित संरचना भत्काइने उनले जानकारी दिए।
मनोहरास्थित टहरामा बस्दै आएकाले उच्च अदालत पाटनमा रिट निवेदन दिए पनि उच्च अदालतले ४ जेठ २०८० मा अन्तरिम आदेश नदिई खारेज गरेको र अदालतले रिट खारेज गरिदिएपछि आयोजनाले माइकिङ गर्दै अतिक्रमित घरटहरा हटाउन पटक–पटक निर्देशन दिँदा पनि अटेर गरेकाले बाध्य भएर डोजर चलाएको उनले बताए।
आयोजनाले २९ भदौमा पनि अतिक्रमित संरचना हटाउन १५ दिने सूचना जारी गरेको तर अटेर गरेको पटक–पटक अतिक्रमित क्षेत्र र आयोजनाभित्र माइकिङ गरेको र गत साता मात्रै घरमै गएर सूचना टाँस गर्नुका साथै पुनः माइकिड गर्दा पनि अटेर गरेको उपनिर्देशकको बरालको भनाइ छ। भित्री सडक खुलिसकेको तर मुखको सडकमा संरचना बनाएर ९ मिटर चौडा सडक नै कब्जा गरेपछि संरचना भत्काइएको उनले बताए।


