काठमाडौँ- आइतवार प्रतिनिधि सभा बैठकमा सत्तापक्ष र विपक्षीबीच चर्काचर्की परेको छ।
चैत १३ गतेदेखि प्रतिपक्षीले सदन अवरोध गर्दै आएकाले त्यसलाई निरन्तरता दिएको थियो। तर सत्तापक्षका सांसदहरूले सदन चलाउन पर्ने माग गरे।
यसका लागि सभामुख देवराज घिमिरेले पनि बैठक सञ्चालनको वातावरण बनाउन सबै सांसदहरूलाई आग्रह गरेका थिए। तर प्रतिपक्षीहरू बैठक चलाउन राजी भएनन्। सत्ता पक्षले पनि सदन चलाउन जोड गरिरह्यो।
सदनमा चर्काचर्की भएपछि युट्युबको लाइभ काटियो। संसद् बैठक सञ्चालन भइरहँदा मिडिया सेन्टरमा प्रसारण उपलब्ध भए पनि युट्युब लगायतका अन्य माध्यमहरूमा देख्न नसकिने अवस्था थियो।
नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले आइतबार प्रतिनिधि सभाको प्रत्यक्ष प्रसारण सुनियोजित रूपमा रोकिएको आशंका व्यक्त गरेका छन्।
संसद् बैठकको लाइभ रोकिएपछि सांसद सापकोटाले गम्भीर शंका व्यक्त गर्दै भने, ‘आज संसद् प्रत्यक्ष प्रसारण रोकियो, यसले गम्भीर आशंका जन्माएको छ।’
आइतबारको बैठकमा सत्ता पक्ष र विपक्षी दलहरूबीच तिक्ततापूर्ण बहस चलेको थियो। विवाद उत्कर्षमा पुग्दै गर्दा सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए, तर बैठक पुनः सुचारु हुन सकेको छैन।
सांसद सापकोटाले सत्ता पक्षका सांसदहरूले प्रतिपक्षी सांसदहरूमाथि आक्रामक व्यवहार देखाएको दाबी गरे।
‘सत्तापक्षका माननीयहरू विपक्षी सांसदलाई भौतिक आक्रमण गर्नेसम्मका गतिविधि गर्दै थिए। सभामुखले ती दृश्य देखेपछि पछि हट्नुभयो र बैठक स्थगित गर्नुभयो,’ उनले टिप्पणी गरे।
त्यसैगरी, उनले प्रधानमन्त्री केपी शर्मा ओलीको भूमिकाप्रति पनि असन्तुष्टि जनाए।
‘प्रधानमन्त्री स्वयं असहिष्णु र गैरजिम्मेवार देखिएका छन्। हालैका घटनाप्रति कुनै संवेदनशीलता देखाइएको छैन। सरकारको दायित्व नागरिकलाई आश्वस्त पार्नु हो, तर अहिले हत्या, लुटपाट, अमनचयन बिथोल्ने गतिविधिहरू बढ्दै गएका छन्। सरकार जनताको शान्ति, सुरक्षा र सुव्यवस्था सुनिश्चित गर्न कसरी अघि बढ्छ भन्ने प्रश्न उठ्छ,’ सापकोटाले बताए।


