२०८३ कार्तिक १७ गते सोमबार

श्रीमानको अस्तु सेलाउन अमेरिकादेखि पोखरा आइन् लोरेटा

 |  जमुना वर्षा शर्मा/रासस
Sanket

जमुना वर्षा शर्मा/रासस

काठमाडौँ, चैत १३
loreata

पोखरा- अमेरिकन नागरिक ७२ वर्षीया लोरेटा हुलवर्क गुलाबी कुर्ता सुरुवाल र हातमा रातो चुरा लगाएर जति सुन्दर देखिएकी थिइन्, उतिनै उनका आँखाहरूमा पीडा र अनुहारमा निराशा छचल्किएका थिए। सराङकोटको डाँडामा उभिँदा, उनका गह्रौँ मनका भावनाहरू बाँदलसरि मडारिएका थिए।

केही वर्षअघि उनले श्रीमान फिल हुलवर्कको हात समाउँदै यही सिँढीहरू उक्लिएकी थिइन्। सँगै खिचिएका तस्बिरहरू, सूर्योदयको सुनौलो रङ, नीलो आकाशको शान्ति, कुहिरोले बनाएका अनौठा आकृतिहरू, हरियाली डाँडाहरू, चराचुरुङ्गीका चिरबिर सबै त्यही थिए। थिएन त केवल एउटा साथ, एउटा स्पर्श, एउटा हात, जसले उनलाई जीवनभर समातेर राख्ने वाचा गरेको थियो। अब तस्बिरहरू केवल याद बनेका थिए, सूर्योदयको उज्यालोभन्दा मनको अँध्यारो गहिरो थियो र सिँढीहरू उक्लिने पाइला साहाराविहीन भएका थिए।

नेपाललाई दोस्रो घर सम्झने ७६ वर्षीय अमेरिकी नागरिक फिल हुलवर्कको नेपालप्रतिको अपार मायाले नै लोरेटालाई उनको अस्तु बोकेर नेपाल ल्याउने प्रेरणा दियो। अमेरिकाको डेल्टा एयरलाइन्समा कार्यरत फिल पहिलो पटक सन् २००७ मा नेपाल आएका थिए। थाइल्यान्ड भ्रमणका क्रममा एकजना साथीले नेपालको प्राकृतिक सुन्दरताबारे सुनाएपछि उनको गन्तव्य नेपाल बन्न पुग्यो। प्रकृतिसँग रमाउन मन पराउने हुलवर्क नेपालका विभिन्न स्थानमा पुगेर प्राकृतिक सौन्दर्यसँगै यहाँको जीवनशैली र संस्कृतिमा घुलमिल भए। जहाँ गए पनि, जहाँ पुगे पनि, उनलाई पोखराको सुन्दरताले नै सबैभन्दा बढी तान्यो।

पोखराका सुन्दर दृश्य, संस्कृति र यहाँका मानिसहरूको मायालु स्वभावले फिललाई यति मोहित बनायो कि उनी हरेक वर्ष नेपाल आउन थाले। पोखराको शान्त वातावरण र फेवातालको किनारले उनलाई सान्त्वना र आनन्द प्रदान गर्थ्यो। एयरलाइन्सबाट सेवा निवृत्त भएपछि त उनले आफ्नो अधिकांश समय नेपालमै बिताउन थाले।

सन् २०१९ मा नेपाल बसाइँका क्रममा फिल हुलवर्क नसा च्यापिएपछि विरामी परे। लेकसाइड गौरीघाटस्थित होटल ‘रानीवन आर्केट’ मा बस्दै आएका हुलवर्कलाई होटल सञ्चालक तथा पर्यटन व्यवसायी हरि भुजेलले उपचारमा विशेष ध्यान दिए। तर, समस्या निको भएन।

एक महिनापछि लोरेटा नेपाल आइन् र उनलाई आफ्नै देश लगेपछि उपचार गरिन्। विडम्बना एउटा समस्या समाधान नहुँदै उनलाई ‘ब्रेन ट्युमर’ भएको पत्ता लाग्यो। अन्ततः उपचारकै क्रममा ६ महिनाअघि फिलको निधन भयो। बिरामी अवस्थामै नेपाललाई सम्झिरहेका फिलको आत्माको शान्तिका लागि उनकी पत्नी लोरेटा श्रीमानको अस्तु लिएर नेपाल आएका हुन्।

श्रीमानको अस्तु लिएर सराङकोट डाँडामा पुगेकी लोरेटासँग पर्यटन व्यवसायी हरि भुजेल, पोखराकै अर्का साथी विनय पौडेल र लोरेटाकी साथी सेरी पनि थिइन्। लोरेटाले स्व श्रीमान्को तस्बिरलाई स्पर्श गर्दै पुष्पगुच्छा अर्पण गरिन्। मुस्कुराइ रहेको श्रीमानको तस्बिर एक टकले हेर्दै गर्दा लोरेटाका आँखा आँसुले भरिए। मौनताबीचका अनगिन्ती भावनासँगै उनले श्रीमानको अस्तु सराङकोटको डाँडामा विर्सजन गरिन्। फिलसँगको सम्झनालाई उनले नेपालकै माटोसँग मिलाइन्।

फिलले आफ्नै जीवनकालमा नेपाललाई माया गर्दै बारम्बार आफ्नो अस्तु नेपालमा लैजान लोरेटालाई अनुरोध गर्ने गरेका थिए। ‘फिल नेपालका प्रकृति र संस्कृतिमा रमाउने असाध्यै सरल र मिजासिलो व्यक्ति हुनुहुन्थ्यो’, होटल सञ्चालक हरि भुजेलले भने, ‘हामीले धेरै पटक हाम्रो घरको भान्सामा सँगै नेपाली खाना खाएका छौँ, होली पर्व मनाएका छौँ, मठमन्दिर देवालय पुगेका छौँ, थुप्रैथुप्रै सम्झना छन् फिलसँग’, फिलको अन्तिम इच्छालाई लोरेटाले पूरा गरेर नेपालसँगको सम्बन्धलाई अझ गाढा बनाएको भुजेलले बताए।

फिल नेपालीको आतिथ्यता र यहाँको जीवनशैलीको खुलेर प्रशंसा गर्थे। विशेष गरी, पोखराका स्थानीय क्षेत्रमा गएर लोकल रक्सी स्वाद मानेर पिउने उनको बानी थियो। ‘फिल नेपाललाई यति माया गर्नुहुन्थ्यो कि उहाँ वर्षको झन्डै तीन महिना नेपालमै बिताउनुहुन्थ्यो। दुई महिना एक्लै रहनुहुन्थ्यो भने एक महिना लोरेटासँगै,’ भुजेलले भने।

डेल्टा एयरलाइन्समै कार्यरत लोरेटा हरेक वर्ष एक महिनाको बिदा मिलाएर श्रीमानसँग पोखरा घुम्न आउने गर्थिन्। अहिले पनि, लोरेटाको नेपालप्रतिको निरन्तर आगमनले फिलको सम्झनालाई अमर बनाइरहेको छ। ‘फिलको नेपालप्रतिको माया र लोरेटाको समर्पणले यो क्षणलाई झन मार्मिक बनाएको छ। फिलको आत्मा नेपालका पहाड, नदी र नेपालीहरूको हृदयमा सधैँ बाँचिरहनेछ’, फिलका साथी विनय पौडेलले भावुक हुँदै भने।

एउटै एयरलाइन्समा कार्यरत हुँदा सुरु भएको प्रेमलाई यो जोडीले विवाहमा परिणत गरेको थियो। जीवनको उत्तराद्धतिर आउँदा पनि फिलसँग बिताएका प्रत्येक क्षण लोरेटाका लागि अविस्मरणीय तथा प्रेमले भरिपूर्ण रह्यो ती दिनहरू सम्झँदै लोरेटाले एउटा पछुतो व्यक्त गरिन्।

‘मैले सन्तान जन्माउने चाहना गरिनँ, तर अहिले कताकता एक्लोपन महसुस गर्छु’, लोरेटाले हल्का उदासीका साथ भनिन्। ‘मेरो साथमा फिल छैन तर उसँगका बिताएका हरेक पल र उसले टेकेको माटो मलाई उत्तिकै प्रिय छ’, लोरेटाले भनिन्, ‘फिल अब भौतिक रूपमा हाम्रो साथमा छैनन्, तर उनको आत्मा सधैँ नेपालमै रहनेछ। पोखरामा उनको सम्झना सधैँ जीवन्त रहनेछ।’

प्रकाशित: २०८१ चैत १३ गते बुधबार ०४:०२
प्रतिक्रिया

थप समाचार

नेप्सेमा करेक्सन जारी, कारोबार रकम पनि घट्यो

काठमाडौँः साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन शुक्रबारदेखि सुरु भएको बजारको करेक्सनले आइतबार पनि निरन्तरता पाएको हो। नेप्सेसँगै यस दिन कारोबार...

दशैँमा किन चलेनन् नेपाली फिल्म? सिक्वेलले पनि तानेनन् दर्शक

दशैँको बिदा र चर्चित फिल्मका सिक्वेलले समेत दर्शकलाई हलसम्म किन तान्न सकेनन्?

प्रधानन्यायाधीश र न्यायाधीशको इनम ‘कनेक्सन’: सर्वोच्चको पूर्ण बैठकले के निर्णय गर्‍यो?

काठमाडौँ: सर्वोच्च अदालतका प्रधानन्यायाधीश र न्यायाधीशहरूसहितको पूर्ण बैठक सम्पन्न भएको छ। बैठकले ५ वटा निर्णय गरेको छ। प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा र न्यायाधीश हरिप्रसाद फुँयालमाथि...

ब्रम्हपुत्रमा बन्दै गरेको विश्वकै ठूलो जलविद्युत बाँधले बाढीको जोखिम बढ्ने वैज्ञानिकको चेतावनी

अनुसन्धान टोलीले भनेको छ ‘यी नतिजाहरूले ब्रम्हपुत्र नदीमा हुने जलवायुसम्बन्धी परिवर्तनशीलताको दीर्घकालीन परिवर्तन प्रदान गर्छ। भविष्यमा जलस्रोतसँग सम्बन्धित जोखिमहरूको मूल्यांकन गर्न...

तीन महिनामा भित्रियो साढे ६४ करोडको झिलिमिली बत्ती

तिहारलाई लक्षित गर्दै चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो तीन महिनामा ६४ करोड ५२ लाख रुपैयाँ बराबरको झिलिमिली बत्ती आयात भएको छ। भन्सार विभागको तथ्यांकअनुसार असोजसम्म २८ लाख ५९ हजार थान झिलिमिली...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना