काठमाडौं– प्रमुख दलसम्वद्ध नेवा: समुदायले आफूहरू राजसंस्थाको पक्षमा नरहेको स्पष्ट पारेका छन्। नेपाली कांग्रेस, एमाले, माओवादी जसपाका नेतार नेताले सामूहित वक्तव्यमार्फत् उक्त प्रष्टीकरण दिएका हुन्।
संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व र समावेशी लोकतन्त्रको पक्षमा निकालिएको सामूहिक वक्तव्यमा राजतन्त्रात्मक निरंकूश व्यवस्थाले मुलुकको विविधतालाई मेटाएर नेवाः लगायत अन्य समुदायलाई भाषिक, सामाजिक, सांस्कृतिक, आर्थिक रुपमा दमन गरेको उल्लेख छ।
असन्तुष्टिमाथि खेलेर केही समयदेखि संघीयताको खारेजी, राजतन्त्र हिन्दू राष्ट्र पुन:स्थापनाको मागसहित प्रतिगामी शक्ति चलमलाउन थालेको उनीहरूले बताएका छन्।
‘लामो संघर्षको बलमा स्थापित संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व र समावेशी लोकतन्त्रमाथि आघात पुऱ्याउने यस्ता गतिविधिहरू हामी नेवाः समुदायलाई कदापी स्वीकार्य छैन। आफ्ना कुत्सित मनसाय पूरा गर्न यी तत्वहरूले नजिकै आइरहेका नेवाः जात्रा चाडपर्वहरूमा अवांछित गतिविधिहरू गर्ने सम्भावना रहेकोले त्यस्तो कार्य कोही कसैले नगर्न नगराउन समेत खबरदारी गर्दै जात्रा पर्वको महत्व र मौलिकता बचाउन नेवाः समुदाय प्रतिबद्ध रहेको अवग गराउन चाहन्छौं’, विज्ञप्तिमा लेखिएको छ।
जनताका असन्तोषहरूलाई इमान्दारीपूर्वक सम्बोधन गर्न राज्यसत्ता एवं सम्पूर्ण राजनीतिक दलहरूलाई पनि उनीहरूले अपिल गरेका छन्।

