काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा तानातान भएको बताएका छन्।
शनिवार प्रेस सेन्टर नेपालको महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्।
‘योग्य मान्छे ल्याउनुपर्नेमा सत्ता गठबन्धनभित्र तानातान चलिरहेको छ। को मेरो मान्छे, को तेरो मान्छे, कसलाई ल्याउँदा कति फाइदा हुन्छ भन्ने कुरा भइरहेको छ,’ उनले भने, ‘राष्ट्रलाई फाइदा होइन, आफूलाई भन्ने सोचियो भने त्यसले अर्थतन्त्र सुधार गर्न सहयोग गर्दैन।’
अर्थतन्त्रमा समस्या भएपनि सुधार्नै नसकिने अवस्था नरहेको उल्लेख गरेका थिए। ‘आँट गरेर एकताबद्ध गरेर बढ्यो भने सुधार्न सकिन्छ,’ उनले भने।
अहिले गणतन्त्रमाथि प्रहार भइराखेको पनि उनको भनाइ थियो। साथै उनले यस्तो अवस्था आउँछ भन्ने आफूले अनुमान गरेको पनि बताए।


