काठमाडौँ- चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादी प्रदर्शनका क्रममा भएको आजगनीमा परी मृत्यु भएका पत्रकार सुरेश रजकको अन्त्येष्टि गरिएको छ। उनको ६ दिनपछि अन्तिम संस्कार गरिएको हो।
टिचिङ अस्पतालमा पोस्टमार्टमपछि शोभा भगवतीमा अन्तिम संस्कार गरिएको हो।
सरकारले उनको परिवारलाई १० लाख रुपैयाँ राहत र रोजगारी दिने प्रतिबद्धता गरेपछि अन्त्येष्टि गरिएको हो। आज उनका दाजु दिनेश रजकलाई सञ्चारमन्त्री र गृहमन्त्रीले भेटेका थिए।
गृहमन्त्रीस्तरीय निर्णयले पत्रकार सुरेश रजकसहित कीर्तिपुरका युवक सविन महर्जनको परिवारलाई १०-१० लाख सहयोग उपलब्ध गराउने निर्णय गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ।
शुक्रबार १० बजे सहकर्मी अनिल रायमाझीसहित सुरेश रिपोर्टिङका लागि एभिन्युजको कार्यालयबाट निस्किएका थिए।
रिपोर्टिङका क्रममा तीनकुनेमा एक घरमा प्रदर्शनकारीले लगाएको आगोमा परेर सुरेशको मृत्यु भएको थियो। पोस्टमार्टम रिपोर्टमा जलेर मृत्यु भएको देखिएको छ।
त्यस्तै काठमाडौं–हेटौंडा रुटमा सुमो गाडी चलाउने कीर्तिपुर–४ गाम्चाका २९ वर्षीय सविन महर्जनको भने प्रहरीको गोली लागेर मृत्यु भएको हो।


