काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले हालै राजावादी समूहले गरेको प्रदर्शनका क्रममा भएको हिंसा र बल प्रयोगको विषयमा न्यायिक छानबिन आवश्यक नपर्ने बताएका छन्। न्यायिक छानबिन नभएपनि निष्पक्ष रूपमा अनुसन्धान हुने उनको जिकिर छ।
शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘छानबिन त हुँदैछ। न्यायिक छानबिन आवश्यक पर्छ भन्ने छैन, नपर्न पनि सक्छ। तर जुनसुकै खालको छानबिन निष्पक्ष हुनेछ। सबै कुरामा न्यायिक प्रक्रियामै जानुपर्छ भन्ने छैन।’
चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनका क्रममा २ जनाको मृत्यु भएको थियो। तीनकुनेमा कार्यक्रम गर्ने स्थान दिएर प्रहरीले पहिले अश्रुग्यास फालेको र त्यसपछि हिंसा भड्किएको विषयमा न्यायिक छानबिन गर्नुपर्ने माग उठिरहेको छ।
यसै क्रममा शिक्षकहरूको आन्दोलनबारे बोल्दै उनले सरकारको दृष्टिकोण नकारात्मक नरहेको स्पष्ट पारे। उनले शिक्षकमाथि विश्वास व्यक्त गर्दै समस्या समाधानको लागि छलफल गर्ने प्रतिबद्धता दोहोर्याए।
‘शिक्षकहरूले सरकारमाथि विश्वास गरेर आवाज उठाउनुभएको छ, म त्यसका लागि धन्यवाद दिन चाहन्छु,’ प्रधानमन्त्रीले भने। ‘यदि सरकार सुन्दैन भन्ने लागेकै भए प्रदर्शन गर्नुहुन्न थियो। यसपटक विश्वासले उहाँहरू अघि आउनुभएको हो।’
उनले सरकार शिक्षकहरूको विपक्षमा छैन र शिक्षकहरू पनि सरकारविरोधी होइनन् भन्दै दुई पक्षबीच संवादका माध्यमबाट समाधान खोजिने बताए।
‘हामी एउटै हौँ,’ प्रधानमन्त्रीले थपे, ‘सकेजति समाधान खोज्ने प्रयास गर्छौं। उहाँहरूको प्रतिनिधिमण्डलसँग वार्ता गर्न सकिन्छ। सानो टोली आए पनि हुने थियो। पहिले जस्तो सरकारले नसुन्छ कि भन्ने लाग्यो होला, तर यसपटक हामी सुन्छौं।’


