काठमाडौँ- कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना सोमबार (आज)देखि सुरु हुने भएको छ।
शनिबार मतदानको कार्यक्रम सम्पन्न भएपनि देशभरका ३५ मतदान केन्द्रबाट मतपेटिका संकलन गर्न समय लागेकाले आजदेखि मात्र गणना सुरु हुने भएको हो।
निर्वाचन समितिका निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता ताराबहादुर सिटौलाले १ बजेअघि नै मतगणना सुरु गर्ने जानकारी दिए।
‘सबै मतपेटिका आइसकेका छन्। बिहान साढे १० बजे उम्मेदवार/प्रतिनिधिहरूको बैठक बोलाएका छौँ। बैठकपछि गणना सुरु हुन्छ,’ सिटौलाले भने, ‘१ बजेअघि नै सुरु गर्छौँ।’ नेपाल बार एसोसिएसनको भवनमा सात ठाउँमा मतगणना गर्ने तयारी छ।
बार निर्वाचनका लागि देशभर ३६ वटा मतदान केन्द्र तोकिएका थिए। काठमाडौँबाहिर ३५ वटा मतदान केन्द्र थिए। छुट्टाछुट्टै मतदान केन्द्रको छुट्टाछुट्टै गणना गर्ने योजनामा निर्वाचन समिति छ।
अध्यक्ष पदमा सत्ता साझेदार दल कांग्रेसको शुभेच्छुक डीएलए, एमाले निकट पीपीएलए र राप्रपा निकट एनडीएलएको गठबन्धनबाट वरिष्ठ अधिवक्ता प्राडा विजय प्रसाद मिश्र उम्मेदवार छन्। यसैगरी माओवादी केन्द्र निकट आरपीएलए र रास्वपाका निकटका कानुन व्यवसायीको गठबन्धनबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ पनि अध्यक्षका उम्मेदवार हुन्।
नेपाल बार एशोसिएशनको २७औँ केन्द्रीय कार्यसमितिको निर्वाचनमा २५ पदका लागि ७५ जना उम्मेदवार छन्।
मिश्रको प्यानलबाट महासचिवमा वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला उम्मेदवार छन्। उनी एमाले निकटको कानुन व्यवसायी हुन्। उपाध्यक्षहरूमा अधिवक्ताहरू पदमप्रसाद लिम्बू(कोशी), अजयशंकर झा (मधेश), तेजबहादुर रावल (बागमती), भुपेन्द्र खनाल (गण्डकी), कृष्णप्रसाद पोखरेल (लुम्बिनी), विवशकुमार बस्नेत (लुम्बिनी), सिद्धराज ओझा (सुदूरपश्चिम) र सरस्वती श्रेष्ठ (महिला) उम्मेदवार छन्।
यो प्यानलको कोषाध्यक्षमा वरिष्ठ अधिवक्ता जगतबहादुर कार्की छन्। दलित सदस्यमा चिरञ्जीवी तिल्क्यानी, मधेशी मुस्लिम (उपत्यका बाहिर) सदस्य अधिवक्ता सूर्यकुमार यादव, मधेशी मुस्लिम खुल्ला सदस्य रिंकुकुमारी यादव, आदिवासी जनजाति (उपत्यका बाहिर) सदस्य राजकुमार श्रेष्ठ, आदिवासी जनजाति (खुल्ला) सदस्य अधिवक्ता मंगलसुन्दर शिल्पकार, महिला (उपत्यका बाहिर) सदस्य अधिवक्ता इन्दिरा आर्चाय, महिला (खुल्ला) सदस्य रञ्जिता कार्की, खुल्ला (उपत्यका बाहिर) सदस्यहरूमा किरण पौडेल, किरण न्यौपाने, शारदा गुरुङ, दमनबहादुर चन्द, बाबुराम अर्याल, मुकुन्द अधिकारी, माधव मैनाली छन्। श्रेष्ठ वरिष्ठ अधिवक्ता हुन् भने बाँकी उम्मेदवारहरू अधिवक्ता हुन्।
श्रेष्ठको प्यानलबाट महासचिवमा रास्वपानिकट कानुन व्यवसायी संगठनका अधिवक्ता यज्ञमणि न्यौपाने उम्मेदवार छन्। उपाध्यक्षहरूमा कर्णबहादुर राई (कोशी), प्रमोद प्रसाद (मधेश), डेकेन्द्रप्रसाद सुवेदी (बागमती), सुकदेव गौतम (गण्डकी), तीर्थराज ज्ञवाली (लुम्बिनी), धर्मराज न्यौपाने (कर्णाली), पदमराज शर्मा (सुदूरपश्चिम) र दिना श्रेष्ठ (महिला) उम्मेदवार छन्। कोषाध्यक्षमा दीपक राई छन्।
सदस्यहरूमा रामबहादुर मिजार (दलित), सञ्जुकुमारी शाह (मधेशी, मुस्लिम), देवशरण यादव (मधेश खुला), निश्चल राई (आदिवासी जनजाति), देवकुमार मोक्तान (खुल्ला, आदिवासी), कला त्रिताल (महिला उपत्यकाबाहिर), सुलोचना बज्राचार्य महिला (खुल्ला) रहेका छन्। खुला सदस्यतर्फका उम्मेदवारमा कृष्णप्रसाद आचार्य, हरिचन्द्र भट्टराई, रामलाल श्रेष्ठ, वीरेद्र खड्का, कान्तिराम ढुङ्गाना, जमुना भुसाल खनाल र सुनिलकुमार पटेल रहेका छन्।
मिश्रले ‘स्वच्छ बार, कानुन व्यवसायीको हित’ भन्ने नारा लिएर चुनावी मैदानमा उत्रिएका छन्। बारको संस्थागत, संरचनागत र नीतिगत सुधार गर्नका लागि आफूलाई निर्वाचित गर्नुपर्ने मिश्रको नारा रहेको थियो। बारको शुद्धता, संविधान संशोधनमा बारको प्रभावकारी भूमिका, लयर्स एकेडेमी स्थापना पनि उनको एजेन्डा रहेको छ। त्यस्तै, नवोदित, युवा र महिला कानुन व्यवसायीका लागि विशेष नीति, योजना र कार्यक्रम सञ्चालन गर्ने, कानुन व्यवसायीको सक्षमता अभिवृद्धि गर्ने, सल्लाह र सुझावका आधारमा काम गर्नेलगायतका एजेन्डा रहेको घोषणापत्र नै मिश्रले जारी गरेका छन्। श्रेष्ठले भने ‘विवेकको आधारमा नेतृत्व छानौँ’ भन्ने मूल नाराका साथ चुनावी अभियान चलाएका थिए।
शनिबारको निर्वाचनमा देशभरका ९ हजार ९९७ मतदाताहरुमध्ये ७ हजार ९९५ मत खसेको निर्वाचन समितिले जानकारी दिएको छ।


