काठमाडौँ- कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको निर्वाचनअन्तर्गत १५ स्थानको गणना सकिएको छ।
मंगलवार बिहान १२ बजेसम्म १५ मतदान केन्द्रको गणना सकिएको बार निर्वाचन समितिका निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता ताराबहादुर सिटौलाले जानकारी दिए।
सिटौलाका अनुसार झापा, इलाम, विराटनगर उच्च, मोरङ जिल्ला, सुनसरी, धनकुटा, राजविराज, उदयपुर, सिरहा, सर्लाही, रौतहट, बारा हेटौँडा, बाग्लुङ र पर्सा मतदान केन्द्रको गणना सकिएको हो।
१५ स्थानको गणनामा वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्रले ८६९ मत ल्याएर अग्रता बनाएका छन्।
उनलाई वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले ५२९ मत ल्याएर पछ्याइरहेका छन्।
महासचिवमा पनि मिश्र प्यालनकै वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाको अग्रता छ। केदारले ८७१ मत पाउँदा उनका प्रतिस्पर्धी यज्ञमणि न्यौपानेले ४५६ मत पाएको सिटौलाले जानकारी दिए।
कोषाध्यक्षमा पनि मिश्र प्यानलकै वरिष्ठ अधिवक्ता जगतबहादुर कार्कीले अग्रता फराकिलो बनाएका छन्। कार्कीले ९१३ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी श्रेष्ठ प्यानलका दीपक राईले ४०८ मत पाएका छन्।
सोमवार १२ स्थानको गणना सकिएको थियो। गणना कार्यलाई थप छिटो बनाउन ९ स्थानमा गणना थाल्ने तयारी भइरहेको सिटौलाले जानकारी दिए।


