काठमाडौँ- कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको निर्वाचनमा २३ मतदान केन्द्रको गणना सकिएको छ।
निर्वाचन समितिका निर्वाचन अधिकृत ताराबहादुर सिटौलाका अनुसार २३ स्थानको गणना सकिँदा अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्रले १२९५ मत पाएका छन्। उनका प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले ६८२ मत पाएका छन्।
यो समाचार तयार पार्दासम्म झापा, इलाम, विराटनगर उच्च, मोरङ जिल्ला, सुनसरी, धनकुटा, राजविराज, उदयपुर, सिरहा, सर्लाही, रौतहट, बारा, पर्सा, हेटौँडा, तनहुँ, स्याङ्जा र बाग्लुङमा मतदान केन्द्रको मत गणना सम्पन्न भएको छ। नवलपरासी, वुटवल, कपिलवस्तु, रुपन्देही र पाल्पा केन्द्रको पनि गणना सम्पन्न भएको छ।
यो गणनामा बृहत लोकतान्त्रिक, प्रगतिशील, पेशागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता प्राडा मिश्र नेतृत्वको प्यानलले २५ वटै पदमा अग्रता बनाइरहेको छ।
शनिबार देशभरका ३६ मतदान केन्द्रमा मतदान भएको थियो। काठमाडौँबाहिर ३५ वटा मतदान केन्द्र थिए। काठमाडौँ उपत्यकाको मतदान केन्द्रमा मात्र ६ हजार १०२ मतदाता थिए। उपत्यकामा ४ हजार ६४३ मत खसेको छ। ९ हजार ९९७ मतदाता रहेको बार निर्वाचनमा ८० प्रतिशत मत खसेको थियो।
अध्यक्षका उम्मेदवार मिश्रलाई डीएलए, एमाले निकट पीपीएलए र राप्रपा निकट एनडीएलएको समर्थन छ। माओवादी केन्द्र निकट आरपीएलए र रास्वपाका निकटका कानुन व्यवसायीको गठबन्धनबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ अध्यक्ष उम्मेदवार हुन्।
मिश्रको प्यानलबाट उपाध्यक्षहरूमा अधिवक्ताहरू पदमप्रसाद लिम्बू(कोशी), अजयशंकर झा (मधेश), तेजबहादुर रावल (बागमती), भुपेन्द्र खनाल (गण्डकी), कृष्णप्रसाद पोखरेल (लुम्बिनी), विवशकुमार बस्नेत (कर्णाली), सिद्धराज ओझा (सुदूरपश्चिम) र सरस्वती श्रेष्ठ (महिला)ले अग्रता बनाएका छन्।
यो प्यानलको कोषाध्यक्षमा वरिष्ठ अधिवक्ता जगतबहादुर कार्की छन्। दलित सदस्यमा चिरञ्जीवी तिल्क्यानी, मधेशी मुस्लिम (उपत्यका बाहिर) सदस्य अधिवक्ता सूर्यकुमार यादव, मधेशी मुस्लिम खुल्ला सदस्य रिंकुकुमारी यादव, आदिवासी जनजाति (उपत्यका बाहिर) सदस्य राजकुमार श्रेष्ठ, आदिवासी जनजाति (खुल्ला) सदस्य अधिवक्ता मंगलसुन्दर शिल्पकार, महिला (उपत्यका बाहिर) सदस्य अधिवक्ता इन्दिरा आर्चाय, महिला (खुल्ला) सदस्य रञ्जिता कार्की, खुल्ला (उपत्यका बाहिर) सदस्यहरूमा किरण पौडेल, किरण न्यौपाने, शारदा गुरुङ, दमनबहादुर चन्द, बाबुराम अर्याल, मुकुन्द अधिकारी, माधव मैनाली छन्। श्रेष्ठ वरिष्ठ अधिवक्ता हुन् भने बाँकी उम्मेदवारहरू अधिवक्ता हुन्। उनीहरू सबैले अग्रता बनाएका छन्।
श्रेष्ठको प्यानलबाट महासचिवमा बनेका न्यौपाने रास्वपानिकट कानुन व्यवसायी हुन्। उपाध्यक्षहरूमा कर्णबहादुर राई (कोशी), प्रमोद प्रसाद (मधेश), डेकेन्द्रप्रसाद सुवेदी (बागमती), सुकदेव गौतम (गण्डकी), तीर्थराज ज्ञवाली (लुम्बिनी), धर्मराज न्यौपाने (कर्णाली), पदमराज शर्मा (सुदूरपश्चिम) र दिना श्रेष्ठ (महिला) उम्मेदवार छन्। कोषाध्यक्षमा दीपक राई छन्।
सदस्यहरूमा रामबहादुर मिजार (दलित), सञ्जुकुमारी शाह (मधेशी, मुस्लिम), देवशरण यादव (मधेश खुला), निश्चल राई (आदिवासी जनजाति), देवकुमार मोक्तान (खुल्ला, आदिवासी), कला त्रिताल (महिला उपत्यकाबाहिर), सुलोचना बज्राचार्य महिला (खुल्ला) रहेका छन्। खुला सदस्यतर्फका उम्मेदवारमा कृष्णप्रसाद आचार्य, हरिचन्द्र भट्टराई, रामलाल श्रेष्ठ, वीरेद्र खड्का, कान्तिराम ढुङ्गाना, जमुना भुसाल खनाल र सुनिलकुमार पटेल रहेका छन्। श्रेष्ठको प्यानलले मिश्र प्यानललाई पछ्याइरहेको छ।
मिश्रले ‘स्वच्छ बार, कानुन व्यवसायीको हित’ भन्ने नारा लिएर चुनावी मैदानमा उत्रिएका छन्। बारको संस्थागत, संरचनागत र नीतिगत सुधार गर्नका लागि आफूलाई निर्वाचित गर्नुपर्ने मिश्रको नारा रहेको थियो। बारको शुद्धता, संविधान संशोधनमा बारको प्रभावकारी भूमिका, लयर्स एकेडेमी स्थापना पनि उनको एजेन्डा रहेको छ।
त्यस्तै, नवोदित, युवा र महिला कानुन व्यवसायीका लागि विशेष नीति, योजना र कार्यक्रम सञ्चालन गर्ने, कानुन व्यवसायीको सक्षमता अभिवृद्धि गर्ने, सल्लाह र सुझावका आधारमा काम गर्नेलगायतका एजेन्डा रहेको घोषणापत्र नै मिश्रले जारी गरेका छन्। श्रेष्ठले भने ‘विवेकको आधारमा नेतृत्व छानौँ’ भन्ने मूल नाराका साथ चुनावी अभियान चलाएका थिए।
यस्तो छ मतगणनाको पूर्ण विवरण


